कर्णाली राजमार्गमा पहिरो, सडक खुल्न एक हप्ता लाग्ने – Nepalboli

कर्णाली राजमार्गमा पहिरो, सडक खुल्न एक हप्ता लाग्ने

   २०८१ भाद्र १३, बिहीबार  

कर्णाली राजमार्गमा भीषण पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ । बुधबार दिउँसोबाट परेको भीषण वर्षाले कर्णाली राजमार्गको कालीकोट खण्डमा पर्ने शुभकालिका १ दहिखोला, गगनेखोलादेखि एस मोडसम्म भीषण पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको हो ।

राजमार्ग बुधवार बेलुका ८ः०० बजेबाट अवरुद्ध भएको भए पनि प्रहरीलाई भने बिहीबार बिहान मात्र जानकारी भएको थियो । दैलेख जिल्लाको आठबिस नगरपालिका ५ खिड्कीज्युलादेखि कालीकोटको शुभकालिका १ एस मोडसम्म झण्डै ९ किलोमिटर सडकमा पहिरो गएको छ । पहिरोले उक्त खण्ड पुर्णरुपमा बन्द हुँदा यात्रुलाई समस्या भएको छ । सुर्खेतबाट आउने यातायातका साधन खिड्कीज्युलामा थन्किएका छन् भने त्यहाँदेखि यात्रुहरू पैदल हिँड्न बाध्य छन् ।

जिल्ला ट्राफिक कार्यालय कालीकोटका प्रमुख प्रहरी सहायक निरीक्षक टोपबहादुर महताराले सबैभन्दा ठुलो पहिरो झरेको गगनेखोलामा दुई वटा एक्स्काभेटर लगाएर पन्छाउने काम जारी रहेको बताउनुभयो । आज र भोली मौसम थप सक्रिय नभएर यताको पहिरो पन्छाउन सकिएला तर ९ किलोमिटर पहिरो भएकाले सडक मर्मत र पहिरो पन्छाउन हप्ता दिन बढी लाग्ने आफूले अनुमान गरेको बताउनुभयो ।

म लगायत प्रहरी टोली पहिरो प्रभावित क्षेत्र कालीकोटको सीमा दहिखोलासम्म पुग्दा सडकको अवस्था निकै दयनीय थियो । सानो योजनाले सडक खुल्दैन, उताबाट सडक डिभिजन कार्यालय सुर्खेत र यताबाट जुम्ला कार्यालयले कामलाई तीव्रतामा दिएमा एक हप्तापछि सडक खुलाउन सकिन्छू, महताराको भन्नुभयो । गगनेखोलाको पहिरोले सडक पुरै बगाएकाले नयाँ सडकको ट्रयाक खोल्नु पर्नेछ ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै