मङ्गलादेवी सिंहको २८ औँ स्मृति दिवस मनाइयो – Nepalboli

मङ्गलादेवी सिंहको २८ औँ स्मृति दिवस मनाइयो

   २०८१ भाद्र १०, सोमबार  

नेपाल महिला सङ्घका संस्थापक अध्यक्ष तथा नेपाली नारी आन्दोलनकी पहिलो महिला नेतृ मङ्गलादेवी सिंहको २८ औँ स्मृति दिवस मनाइएको छ । स्मृति दिवसको सन्दर्भमा आज बिहान शोभा भगवती डल्लुमा रहेको सिंहको सालिकमा माल्यार्पण गरी उहाँप्रति श्रद्धा सुमन अर्पण गरिएको हो ।

मङ्गलादेवी पुत्रसमेत रहनुभएका उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सालिकमा माल्यार्पण गर्नुभयो । माल्यार्पणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री सिंहले नेपाली महिलाको हक, अधिकारका लागि आवाज उठाउने पहिलो महिला मङ्गलादेवी सिंह भएको बताउँदै अहिले संविधानमा रहेको समावेशी, समानुपातिक प्रतिनिधित्व र नीतिगत तहमा महिला प्रतिनिधित्व मङ्गलादेवीकै नेतृत्वमा भएको आन्दोलनको उपलब्धि भएको बताउनुभयो ।

कार्यक्रममा मङ्गलादेवी फाउन्डेसनकी अध्यक्ष सिर्जना सिंहले मङ्गलादेवी सिंह नेपाली महिलाका लागि प्रेरणा रहेकोभन्दै उहाँले नेपाली महिला आन्दोलनमा दिएको योगदान अतुलनीय रहेको बताउनुभयो ।

महिलाको हक, अधिकारलाई सुरक्षित बनाउनका लागि विसं २००४ साउन २४ गते मङ्गलादेवी सिंहको अध्यक्षतामा महिला भेला भई महिला सङ्घको स्थापना भएको थियो । उहाँले महिलाले पढ्न पाउनुपर्छ भन्दै दिएको दबाबका कारण पद्म शमशेर राणा पद्म कन्या क्याम्पस खोल्न तयार हुनुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै