भारत भ्रमण सफल भयो- परराष्ट्रमन्त्री – Nepalboli

भारत भ्रमण सफल भयो- परराष्ट्रमन्त्री

   २०८१ भाद्र ७, शुक्रबार  

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाली कांग्रेसको केन्द्रीय समितिलाई हालैको आफ्नो भारत भ्रमण सफल भएको जानकारी गराउनुभएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा राणाले शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्नुहुँदै आफूले यही भदौ २ देखि ६ गतेसम्म गरेको भारत भ्रमण सफल भएको जानकारी दिनुभएको हो । नेपाल र भातरबिचको आपसी सद्भाव अभिवृद्धि गर्न यस भ्रमणले उल्लेखनीय भूमिका निर्वाह गरेको जानकारी पनि उहाँले दिनुभयो ।

परराष्ट्रमन्त्री डा राणा भारतको चारदिने औपचारिक भ्रमण सकेर बिहीबार स्वदेश फर्कनुभएको हो । कांग्रेस केन्द्रीय समितिको आजको बैठकमा उहाँले यस भ्रमणबाट दुई मुलुकका बिचमा रही आएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ठ सम्बन्धलाई मजबुत तुल्याउन योगदान पुगेको विश्वास आफूले लिएको पनि बताउनुभयो ।

उहाँले नेपालमा ठुला पार्टी मिलेर बनेको स्थायी प्रकृतिको सरकारलाई भारतले राम्रो ‘रेस्पोन्स’ गरेको आफूले पाएको अनुभव सो बैठकमा सुनाउनुभएको थियो ।

मन्त्री डा। राणाले आफूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री डा एस जयशङ्करसँग भेटवार्ता गरेको र ती वार्तामा नेपालको हित र चासोका सबै विषयहरु राखेको बताउँदै यसबाट आगामी दिनमा उच्चस्तर एवम् विभिन्न तहमा सम्पर्क विस्तार गर्न तथा द्विपक्षीय संयन्त्रहरुका माध्यमबाट सहयोग र सहकार्य थप प्रवर्धन गर्न मार्गदर्शन गरेको उहाँको भनाइ थियो ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै