समृद्धि र विकासका लागि नयाँ सत्ता समीकरण बनेको हो- गृहमन्त्री लेखक – Nepalboli

समृद्धि र विकासका लागि नयाँ सत्ता समीकरण बनेको हो- गृहमन्त्री लेखक

   २०८१ भाद्र ७, शुक्रबार  

सङ्घीय सरकारका गृहमन्त्री रमेश लेखकले समृद्धि र विकासका लागि नयाँ सत्ता समीकरण बनेको दावी गर्नुभएको छ । शुक्रबार जनकपुरधाममा आयोजित जिल्ला प्रशासन कार्यालय धनुषाको मुख्य प्रशासनिक भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री लेखकले सरकारको स्थिरता र स्थायित्व नभएका कारण मुलुकले विकासको गति लिन नसकेका कारण मुलुकमा समृद्धि र विकासका लागि नयाँ सत्ता समीकरण बनेको बताउनुभएका हो ।

उहाँले दुई ठूला दल एकजुट भएर बनेको सरकारले जनताको विश्वास जित्ने र राजनीतिक स्थिरताका कारण मुलुकमा उत्पन्न भएका समस्याहरुलाई समाधान गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “१८ वर्षदेखि सङ्क्रमणकालीन न्यायसम्बन्धी विषय निष्कर्षमा पुग्न सकिरहेको थिएन । तर दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले एकजुट भएपछि सङ्क्रमणकालीन न्याय सम्बन्धी विषय निष्कर्षमा पु र्‍याउन सफल भएको छ र यसले जटिल समस्या समाधान मात्रै गरेको छैन, मुलुकमा राजनीतिक स्थायित्व प्रदान गरेको छ।” उहाँले महिना दिन नबित्दै सरकार बन्ने र भत्किने समस्याले देशमा राजनीतिक स्थायित्व पाउन नसकेका कारण प्रत्यक्ष रुपमा देशको सेवा प्रवाहलाई समेत प्रभावित बनाएको थियो, तर दुई ठूला दल एकसाथ हुँदा सरकारको स्थायित्व कायम हुने र देश समृद्धितर्फ लम्कने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “समृद्धि र विकासका लागि वर्तमान गठबन्धन आवश्यक छ र यसले निरन्तरता पाउनेछ, अवश्यकतानुसार समीकरणले मुलुकलाई विकासको गतितर्फ लैजानेछ ।”

मन्तव्यकै क्रममा गृहमन्त्रीले निर्माणको क्षेत्रमा पटक पटक समस्या आइरहेका कारण समय सीमालाई दृष्टिगत गर्दै गुणस्तरीय काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “गुणस्तरीय काम र समयमा सम्पन्न नहुँदा सबैलाई मार्का पर्ने हुँदा समय र गुणस्तरमा विशेष ध्यान दिन आवश्यक छ ।”

उक्त भवन निर्माणको जिम्मेवारी श्री सावित्री निर्माण सेवा जनकपुरधामले पाएको छ । सम्झौतानुसार गत असार २८ गते देखि २०८३ साल असार २८ गतेसम्मको सम्झौता रहेको छ ।

यस्तै, भवनको लागत अनुमान भ्याट बाहेक सात करोड ८७ लाख ९४ हजार ५६६ रुपियाँ ५२ पैसा रहे पनि पाँच करोड ४७ लाख २९ हजार ४४७ रुपियाँ ६५ पैसामा दुई वर्षमा कार्य सम्पन्न हुने गरी सम्झौता भएको छ भने प्राविधिक सुपरिवेक्षक सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनुषा रहने जनाइएको छ । आरसीसी फ्रेमबाट निर्मित उक्त भवन तीन तल्लाको रहनेछ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै