गाजामा युद्धविराम वार्ताका लागि कायरो पुगे इजरायली वार्ता टोली – Nepalboli

गाजामा युद्धविराम वार्ताका लागि कायरो पुगे इजरायली वार्ता टोली

   २०८१ भाद्र ७, शुक्रबार  

गाजामा जारी युद्ध रोक्ने उद्देश्यका साथ आह्वान गरिएको युद्धविराम वार्ताका लागि सहभागीता जनाउन इजरायली वार्ता टोली शुक्रबार कायरोमा पुगेको छ । गाजाको दक्षिणी सीमामा इजरायली सेनाको उपस्थिति रहने पूर्वअडानमा वार्ताकारहरू अडिग रहेको एक प्रवक्ताले बताउनुभएको छ । “मोसाद जासुसी निकायका प्रमुख डेभिड बार्निया र ‘सिन बेट घरेलु सुरक्षा सेवा’का प्रमुख रोनेन बार बन्धक रिहाई सम्झौता अगाडि बढाउन इजिप्टको राजधानी पुग्नुभएको छ,” प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका प्रवक्ता ओमर डोस्ट्रीले बिहीबार बताउनुभयो ।

इजिप्टलगायत मध्यस्थकर्ताले गाजामा जारी १० महिनाभन्दा बढीको युद्ध अन्त्य गर्ने सम्झौतामा पुग्न पहल गरिरहेका छन् । शीर्ष अमेरिकी कूटनीतिज्ञ एन्टोनी ब्लिन्केनले यस हप्ता मध्यपूर्वक्षेत्रको भ्रमण गरी वार्ताको पर्खाईको समय अन्तिम चरणमा पुगेको र तत्काल युद्धविराम सम्पन्न गर्न आवश्यक रहेको कुरामा जोड दिनुभएको थियो ।

संयुक्त राष्ट्रसङ्घका अनुसार इजरायली सेनाले वस्ती खाली गर्न दिएको आदेशपछि यस हप्ता देइर अल–बलाह र दक्षिणी सहर खान युनिसबाट दशौँ हजार नागरिकहरू विस्थापित भएका छन् । युद्धले गाजाको करिब ९० प्रतिशत जनसङ्ख्यालाई विस्थापित गरेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै