प्रदीप गिरी देशकै लागि प्रेरक र मार्गनिर्देशक नेता हुनुहुन्थ्यो- गृहमन्त्री लेखक – Nepalboli

प्रदीप गिरी देशकै लागि प्रेरक र मार्गनिर्देशक नेता हुनुहुन्थ्यो- गृहमन्त्री लेखक

   २०८१ भाद्र ६, बिहीबार  

गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसको बौद्धिक दार्शनिक नेताको रूपमा रहनुभएका प्रदीप गिरी देशकै लागि प्रेरक र मार्गनिर्देशक नेताका रूपमा सदा रहिरहने बताउनुभएको छ । प्रदीप गिरीको दोस्रो वार्षिकीको अवसरमा लहान–१४ मा रहेको प्रदीप गिरी आश्रममा आयोजित स्मृति सभालाई सभालाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।

ज्ञानको सागर जस्तै रहनुभएको प्रदीप गिरीको भौतिक शरीर नरहेपनि वैचारिक रूपमा कहिलेपनि मर्न नसक्ने भन्दै संविधानमा दलित महिला जनजाति र मधेशीको समावेशी चरित्रको संविधान लेखनमा उहाँको भूमिका रहेको स्मरण गराउनुभयो । गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता लेखकले भन्नुभयो, प्रदीप गिरीसँग रहेर नेपाली काँग्रेसमा सँगसँगै काम गर्न पाएकोले नजिकबाट उहाँलाई चिनेको छु । बिपी गणेशमानपछिको दार्शनिक नेता प्रदीप गिरी हुनुहुन्थ्यो ।

नेपाली कांग्रेसमा गाँउको विकास भएमात्रै देशको विकास सम्भव हुने आफ्नो दह्रो तर्क पार्टीभित्र मात्रै होइन, नेपालका कम्युनिष्टहरुलाई समेत मार्क्सवाद पढाउन सक्ने हैसियत भएको नेता प्रदीप दाइ हुनुहुन्थ्योू, गृहमन्त्री लेखकले प्रष्टयाउनुभयो, अभूत क्षमता भएको प्रदीप दाइले भूगोल र धर्मको आधारमा कहिलेपनि विभेद गर्नुभएन । अधिकारबाट वञ्चित समुदायको अधिकार प्राप्त नभएसम्म लोकतन्त्र मजबुत हुन नसक्ने तर्क गरिरहनुहुन्थ्यो । उहाँले भन्नुभयो, संविधान निर्माणमा उहाँले उठाउँदै आइरहेको ‘दमजम’ दलित महिला, जनजाति र मधेशीको अधिकारको कुरा समेटिएकोले यस संविधानलाई बलियो बनाउन सकेमात्रै प्रदीप दाइको सपना सकार हुनेछ ।

नेपाली कांग्रेस पार्टीले प्रदीप दाइले देखाउनु भएको राजनीति, आर्थिक, सामाजिक पक्षहरूलाई सम्पत्तिको रूपमा ग्रहण गरेर अघि बढेमात्रै लोकतन्त्र सबल हुने र देश सफल हुने गृहमन्त्री लेखकले तर्क गर्नुभयो । उहाँले थप्नुभयो, प्रदीप गिरीको विचारलाई ग्रहण गर्न प्रदीप गिरीको अध्ययन चिन्तन गर्ने यस आश्रमलाई अध्ययन केन्द्रको रूपमा रूपमा विकास गर्न आवश्यक छ ।

सुशासनको लागि स्थिरता आवश्यक रहेकोले नेपाली कांग्रेस र एमाले मिलेर सरकार गठन भएको गृहमन्त्री लेखकले प्रष्टयाउनुभयो । उहाँले भन्नुभयो, संविधानको कार्यान्वयन गर्न दुई ठुला पार्टी नमिलेपछि अर्को विकल्प नभएर स्थिर सरकार दिन दुई ठुला पार्टी मिलेको हो । काठमाडौँमा सरकार परिवर्तन हुँदा सातै प्रदेशमा सरकार परिवर्तन हुने अस्थिरताले जनतामा अविश्वास देखिएको थियो । जनताको चाहना पुरा गर्न देश बाहिर र भित्रबाट लगानी भित्र्याएर रोजगारी सृजना गर्न यो सरकार गठन भएको हो ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै