टिकटकमाथिको प्रतिबन्ध हटाउने अन्तिम तयारीमा सञ्चारमन्त्रालय, भोलीबाट चल्ने सक्ने
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक संजाल टिकटकमाथिको प्रतिबन्ध हटाउने अन्तिम गृहकार्य गरिरहेको छ । बुधबार मन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकमा लगाइएको प्रतिबन्ध हटाउने गरि मन्त्रालय स्तरीय निर्णय गरेको र उक्त निर्णय विहिवारको नियमित क्याबिनेटले पारित गरे संगै नेपालमा टिकटक पुन संचालनमा आउने मन्त्रालयले जनाएको छ ।‘टिकट प्लेटफर्ममाथिको रोक हटाउन स्वीकृति दिने निर्णयमा आज मन्त्री गुरुङले हस्ताक्षर गरेर क्याबिनेटमा डिसिजनका लागि पठाउनु भएको छ,’ स्रोतले भन्यो, ‘अब भोलिको क्याबिनेटले पारित गर्नेछ।’
बिहीबार क्याबिनेटले निर्णय गरेसँगै देशभर प्रतिबन्धित भएको एप टिकटक सहज रुपमा चल्नेछ। क्याबिनेट निर्णयसँगै मन्त्रालयले दूरसञ्चार प्राधिकरणलाई टिकटकमाथिको प्रतिबन्ध हटाउन पत्र लेख्नेछ। लगत्तै, बिहीबारबाटै टिकटक चल्ने सञ्चार मन्त्रालय निकट स्रोतले जानकारी दियो। गत बर्षको असोज २७ गते नेपाली समाजको सामाजिक सद्भाव बिगारेको भन्दै पुस्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।
सरकारको तात्कालिन निर्णय पुनर्विचारका गर्न चिनियाँ पक्षले सरकारलाई आग्रह गरेको थियो। यसअघिकी सञ्चारमन्त्री रेखा शर्माले जारी गरेको सामाजिक सञ्जाल निर्देशिकाले नेपालको कानुन मानेर आउने जुनसुकै प्लेटफर्म पनि सञ्चालन हुन पाउने उल्लेख थियो।
२०८० माघमा टिकटकले उच्च तहका अधिकारीलाई नेपाल भ्रमणमा पठाएरै प्रतिबन्ध खुलाउन प्रयास गरेको थियो। दस जनाभन्दा बढी टिकटकका प्रतिनिधिले राजनीतिक भेटवार्ता गर्दै निरन्तर ताकिता गरे। सञ्चारमन्त्री रेखा शर्मासँग पटकपटक भेट गरे। तर, प्रचण्ड सरकार रहुञ्जेल प्रतिबन्ध हट्न सकेको थिएन।
सरकारले प्रतिबन्ध लगाएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा १४ वटा दायर भएका थिए।
सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले मंसिर ५ मा सबै रिटको एकसाथ प्रारम्भिक सुनुवाइ गरी तत्काल कुनै ‘अपूरणीय क्षति नहुने’ भन्दै सरकारी निर्णय कार्यान्वयनमा रोक लगाउने गरी अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो।