अविरल वर्षाले देशभरको जनजीवन प्रभावित – Nepalboli

अविरल वर्षाले देशभरको जनजीवन प्रभावित

   २०८१ भाद्र ५, बुधबार  

बुधबार बिहानको रातिदेखि परेको अविरल वर्षाले देशभरको जनजीवन प्रभावित भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर अधिकांश ठाउँमा वर्षा भइरहेको छ।

बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशसँगै बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा दिनभर हुने पूर्वानुमान गरिएको छ। महाशाखाका अनुसार बुधबार रातिसम्म देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। काठमाडौँ उपत्यकामा रातिदेखि परेको पानीले जनजीवन प्रभावित भएको छ।

लगातारको वर्षाले कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली नदीमा पानीको सतह खतरा तह नजिक पुगेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार साना तथा ठुला नदीमा पानीको बहाव बढेको हो। काठमाडौँ उपत्यकामा लगातार वर्षा भइरहेकाले बागमती, विष्णुमती, धोविखोला, गोदावरी र हनुमन्तेमा बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार बारा, पर्सा, सिन्धुली, मकवानपुर, चितवन, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलान्चोक, कास्की, पर्वत, बागलुङ, ब्याग्दी, बर्दिया, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुरका साना तथा ठुला नदीमा पानीको बहाव बढेको छ।

खराब मौसम तथा कम भिजिबिलिटीका कारण आन्तरिक र अन्तर्राष्ट्रिय दुवै क्षेत्रका केही उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार निरन्तरको वर्षाले केही उडान प्रभावित भएका हुन्। बुधबार बिहान अन्तर्राष्ट्रियतर्फ एयर चाइनाको विमान ‘डाइभर्ट’ भएको थियो।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ रहेकाले देशभर आंशिकदेखि साधरणतया बदली रहेको जनाएको छ।

लगातारको वर्षा र पहिरोले केही राजमार्गसमेत अवरुद्ध भएका छन्।

 

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै