पार्टीभित्र संघीयताको अभ्यास गर्न कांग्रेस प्रदेश सभापतिहरूको माग – Nepalboli

पार्टीभित्र संघीयताको अभ्यास गर्न कांग्रेस प्रदेश सभापतिहरूको माग

   २०८१ श्रावण २४, बिहीबार  

नेपाली कांग्रेसका सात प्रदेशका सभापतिहरूले केन्द्रले प्रदेशलाई बेवास्ता गरेको भन्दै पार्टी बैठकमा गुनासो गरेका छन् ।उनीहरुले पार्टी संघीयताको अभ्यान गर्न पनि माग गरेक छन । बुधबारबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा बिहीबार आमन्त्रित सदस्यका रुपमा सात प्रदेशका सभापतिलाई बोल्न दिइएको थियो ।

प्रदेश सभापतिहरू उद्धव थापा, कृष्ण यादव, इन्द्र बानियाँ, शुक्रराज शर्मा, अमरसिंह पुन, ललितजंग शाही र बीरबहादुर बलायरले संघीयता अनुसार प्रदेश कार्यसमितिको भावना पार्टीले बुझ्न नसकेको गुनासो गरेका छन् ।

पार्टी संरचनामा प्रदेश समितिलाई भूमिकाविहीन बनाइएको उनीहरूले गुुनासो गरे । १५ भदौदेखि प्रस्तावित १०० दिने सांगठनिक अभियानको प्रदेश संयोजन गर्न पनि सहमहामन्त्रीहरूलाई दिने भए आफ्नो भूमिका कहाँ हुने भन्दै उनीहरूले चासो राखे ।

प्रदेशमा मन्त्री बनाउँदा सम्बन्धित समितिलाई बेवास्ता गरिएको उनीहरूले बताएका छन् । ‘संघ नीति बनाउने, प्रदेश विकास गर्ने संरचना हो । स्थानीय तह कार्यान्वयन गर्ने संरचना हो । यसअनुसार कांग्रेसले बुझ्न सकेन,’ बागमती प्रदेशका सभापति इन्द्र बानियाँले पार्टी बैठकमा भने ।

प्रदेश सभापतिहरूले प्रदेश समितिलाई बोधार्थ कार्यालयका रुपमा मात्रै पार्टीले प्रयोग गरेको बताएका छन् । केन्द्रीय सदस्य राजेन्द्र कँडेलले पनि प्रदेशलाई अधिकार नदिइएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

आजको बैठकमा केन्द्रीय सदस्य डिला संग्रौलाले सरकारलाई प्रभावकारी बनाउन सरकार हेर्ने संयन्त्र बनाउनुपर्ने मत राखिन् । कर्णाली, मधेशको भ्रमण गर्दा धेरै कार्यकर्ता एवम शुभेच्छुकहरू कांग्रेसप्रति त्यति सन्तुष्ट नभएको पार्टी बैठकमा उनले बताइन् ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै