कपिलवस्तुमा ४० जनाले त्यागे नेपाली नागरिकता
नेपाल नागरिकता ऐन २०६३ जारी भएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुबाट ४० जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेका अनुसार अहिलेसम्म ४० जनाले नागरिकता त्याग गरेको बताउनुभयो ।
नेपाली नागरिकता त्याग गर्ने मध्ये ३३ जना भारत, अमेरिका, बेलायत र जर्मन दुई दुई जना र पोर्चुगलबाट एक जना रहेका छन् । गत आर्थिक वर्ष २०८०-०८१मा भने सात जनाले नागरिकता त्याग गरेका हुन् । कार्यालयमा नागरिकता त्यागको अभिलेख २०७० कात्तिकदेखि राखिएको छ ।
भारतमा व्यवसाय गर्न, विवाह गर्न, घरजग्गा किनबेच गर्न, रोजगारी गर्न, स्थायी बसोबास गर्न र निर्वाचनमा उम्मेदवार हुन्, भारतमा मावलीबाट सम्पत्ति प्राप्त गर्न भन्दै नागरिकता त्यागे गरेको उहाँको भनाइ छ ।
भारतमा नागरिक भएर बस्न चाहेको र भारतमा विवाह भएको छोरीसँग बस्न चाहेको भन्दै समेत नागरिकता त्याग गरेका छन् । भारतमा माइती भएको र माइतमै जग्गा जमिन प्राप्त भएका, भारतमा विवाह भएको र भारतमै बस्न चाहने भएकाले समेत नागरिकता त्याग गरेका हुन् ।
यस्तै अमेरिकन नागरिक प्राप्त गर्न भन्दै २ जनाले नागरिकता त्याग गरेको प्रशासन कार्यालयले जनाएको छ । नेपाली नागरिकता ऐन २०६३ अनुसार नेपाली नागरिकता त्याग गर्नेहरूले नामथर, नागरिकता प्रमाणपत्र नम्बर, जारी मिति र स्थान, हालको बसोबासको ठाउँ, नेपालमा बसोबासको ठाउँ, नागरिकता त्याग गर्नुपर्ने कारण र परिवारका सदस्य मध्ये नेपाली नागरिक भई बस्नेहरूको नाम उल्लेख गरी निवेदन दिनुपर्ने प्रावधान छ ।
कुनै नेपाली नागरिकले नेपालको नागरिकता त्याग्न चाहेमा निज नेपालभित्र बसेको भए सम्बन्धित प्रमुख जिल्ला अधिकारी समक्ष र विदेशमा बसेको भए सम्बन्धित नेपाली राजदूत वा नेपाली नियोग प्रमुख वा महावाणिज्यदूत वा वाणिज्य दूतसमक्ष आफूले प्राप्त गरेको नेपाली नागरिकताको प्रमाणपत्रको सक्कलप्रति संलग्न गरी अनुसूची–९ बमोजिमको ढाँचामा सूचना दिनुपर्ने व्यवस्था रहेको छ ।