सरकारको कमजोरी भेटिए खरो ढङ्गले अभिव्यक्ति दिन्छौँ – Nepalboli

सरकारको कमजोरी भेटिए खरो ढङ्गले अभिव्यक्ति दिन्छौँ

   २०८१ श्रावण १३, आईतवार  

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको कमजोरी भेटिए खरो टिप्पणी गर्ने बताउनुभएको छ। आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले राम्रो काममा सरकारलाई निरन्तर साथ दिने र काम नभए प्रधानमन्त्री, मन्त्रीहरूबारे पनि संसद् र बाहिर पनि खरो अभिव्यक्ति दिने बताउनुभएको हो।

महामन्त्री शर्माले कुरा कम र काम बढी गर्न पनि सरकारलाई सुझाव दिनुभयो। एकाइसौँ शताब्दीको कामको प्रचार स्वयं काम आफैँले गर्ने भएकाले सरकारले त्यसैमा केन्द्रित भएर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो। महामन्त्री शर्माले लामो सङ्घर्षबाट आएका काँग्रेस–एमालेले नेतृत्वको सरकारले देशमा नयाँ आशा, नयाँ विश्वासलाई भर्नेगरी काम गर्ने विश्वास पनि व्यक्त गर्नुभयो। वर्तमान सरकारले आफूलाई गतिशील ढङ्गले, जिम्मेवार ढङ्गले, एकताबद्ध ढङ्गले, पारदर्शी ढङ्गले, दृढ ढङ्गले शहीदको शपथ खाएर कार्य गर्न सक्नुपर्ने उल्लेख गर्दै महामन्त्री शर्माले त्यसमा आफूहरूले बलियो साथ दिने बताउनुभयो।

महामन्त्री शर्माले सुशासनको पक्षमा सरकारले आफैँभित्र कमी भए पनि खोजी गर्नसक्ने सामर्थ्य राख्नुपर्ने बताउनुभयो।

 

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै