सिमलताल घटना अध्ययन कार्यदलको समय सात दिन थप
चितवनको सिमलतालमा दुइटा गाडी दुर्घटना अध्ययन गर्न गठित कार्यदलको समयावधि सात दिन थप्ने निर्णय भएको छ। कार्यदललाई सुरूमा १० दिनको समय दिएकोमा थप सात दिन समय दिइएको कार्यदलका संयोजक छवि रिजालले बताए।
‘गृहमन्त्रीबाट सात दिन समय थप भएको जानकारी आएको छ। हामीले दुर्घटनास्थलको अध्ययन, दुर्घटनाबाट बाँचेकाहरूसँगको कुराकानी र सरोकारवालासँग छलफल गरेका छौं,’ रिजालले भने, ‘प्रतिवेदनलाई अन्तिम रूप दिन समयावधि थप गरिएको हो।’
अध्ययनका क्रममा सिमतालभन्दा माथिको भिरालो जमिनमा ग्रामीण सडक खनेको पाइएको, बाटो खन्दा निस्केको माटोको उचित व्यवस्थापन नभएको र त्यसैले भेलबाढी उत्पन्न गराएको पाइएको कार्यदलका सदस्यसमेत रहेका यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सरोज सिटौलाले बताए।
‘हामीले घटनाका सम्बन्धमा विस्तृत अध्ययन गरेका छौं, स्थानीयबासी, दुर्घटनाका घाइतेसँग कुराकानी गरेका छौं। राजमार्ग सञ्चालनका क्रममा अपनाउन नसकिएको सावधानी, सडक सुरक्षासँग जोडिएका विषयहरू पहिल्याएका छौं। त्यही आधारमा प्रतिवेदन तयार पारेर बुझाउनेछौं,’ उनले भने।
कार्यदलको अध्ययनले पनि माथिल्लो भेगबाट लेदोसहितको भेलबाढी आएको र दुई वटा बगाएको देखाएको छ। सडक डिभिजन भरतपुरले यही कुरालाई औंल्याएको थियो।