क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था सामान्य बन्दै
दुर्घटनाग्रस्त सौर्य एयरका क्याप्टेन मनीषरत्न शाक्यको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । उनी काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)को आईसीयूकक्षमा उपचाररत छन् ।
शाक्यको अवस्था खतरामुक्त रहेको र परिवारसँग भेटघाट तथा बोलचाल गरिरहेको केएमसीका व्यवस्थापक नारायणप्रसाद दाहालले जानकारी दिए । शाक्यको स्वास्थ्य अवस्था ‘खतरामुक्त’ भई बोल्न र झोलिलो पदार्थ खान सक्ने भएका छन् ।
३७ वर्षीय शाक्यको टाउकोमा लागेको चोटमा भने बुधबार नै टाँका लगाइएको छ । मेरुदण्डको हड्डीमा पनि चोट लागेको देखिएको छ । तर, तत्काल शल्यक्रिया गर्न स्वास्थ्य अवस्थाले साथ नदिएपछि केही दिन उनलाई अस्पतालमा नै राखिने दाहालले बताए ।
शाक्यको शरीरमा जलन नभए पनि भित्री चोटहरू देखिएका छन् । ‘उहाँको ढाडको हड्डी दुई वटा ठाउँमा भाँचिएको छ, जसलाई ढाडको लम्बर भन्छौँ । त्यसको अप्रेसनपछि गर्नुपर्ने भनिएको छ ।’
शाक्यको शरीरमा थप जटिलता पहिचान गर्नका लागि आज एमआरआई गर्ने लागीएको छ । शाक्यलाई अस्पतालको न्युरो सर्जरी आइसियुमा राखिएको छ ।
बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको एउटा विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । विमानमा सवार १९ जनामध्ये क्याप्टेन शाक्य मात्र बाँचेका छन् ।