कृष्णमान प्रधानको सुनुवाइ सम्पन्न, निर्णय हुन बाकी

सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको आयुक्तमा सिफारिस हुनुभएका कृष्णमान प्रधानको सुनुवाइ सम्पन्न गरेको छ । संवैधानिक परिषद्बाट निर्वाचन आयुक्तमा सिफारिस हुनुभएका प्रधानलाई बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सुनुवाइ गरिएको हो । बैठकमा उहाँले पदीय जिम्मेवारीमा रहँदा आफूले गर्ने भावी योजना सम्बन्धी अवधारणा तथा कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।
समितिका सदस्यहरूले प्रधानविरुद्ध परेका उजुरीका बारेमा स्पष्ट पार्न आग्रह गरेका थिए । नेपाली काँग्रेसका सांसद जीवन परियारले अदालती मिलापत्रको पत्र पढेर सुनाउँदै सही वा गलत के भएको हो भनी प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो–‘‘यो पत्र आधिकारिक हो कि होइन रु यसमा कृष्णमान प्रधानको के छ भनाई ? २०८० साल भाद्र २९ गते एउटा पत्र प्राप्त भएको छ । यदि यो पत्र आधिकारिक होइन भने यसको प्रमाणित कपि पनि माग्नुपर्छ होला । हामीलाई उजुरीसहित प्राप्त भएको पत्र हो यो ।’’
त्यसैगरी नेकपा एमालेका प्रमुख सचेत महेश बर्तौलाले समितिमा परेको उजुरीको कानुनी पक्ष भन्दा बाहिर रहेर व्यवहारिक रूपमा आफूलाई उपयुक्त पात्र भएको प्रमाणित गर्न चुनौती दिनुभयो ।
प्रधानको सुनुवाइपछि समितिको बैठक अनिश्चित कालका लागि स्थगित गरिएको छ ।