काठमाडौ विमानस्थलमै सौर्य एयरलाइन्सको जहाज दुर्घटना, १८ जनाको निधन – Nepalboli

काठमाडौ विमानस्थलमै सौर्य एयरलाइन्सको जहाज दुर्घटना, १८ जनाको निधन

   २०८१ श्रावण ९, बुधबार  

क्याप्टेनको उपचार हुँदै

काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ । उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो ।

विमानमा सवार १८ जनाको शव यत्रतत्र छरिएर रहेका अवस्थामा सङ्कलन गरिएको विमानस्थल सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिनुभयो । उहाँले सङ्कलित ती शव अहिले महाराजगञ्ज अवस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लैजाने तयारी गरिएको बताउनुभयो । प्रहरी उपरीक्षक विकका अनुसार सो विमानका चालक दलका एक सदस्यलाई जीवितै उद्धार गरिएको छ ।

यस्तै, जहाजमा रहेका क्याप्टेन मनीषरत्न शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

सौर्य एयरको जहाज मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गरेको उक्त विमान दुर्घटनामा परेको हो ।

क्याप्टेनको उपचार हुँदै

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते हुनुभएका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यको काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) को आकस्मिक कक्षमा उपचार भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते हुनुभएका शाक्यको उपचारको लागि अस्पताल लगिएको थियो ।

अस्पतालका चिकित्सक डा विशद दाहालले उहाँको शरीरमा विभिन्न भागमा चोटपटक लाग्नुका साथै मुखबाट रगत आएकाले उहाँको आकस्मिक उपचार कक्षमा उपचार भइरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “उहाँको शरीरमा जलन छैन तर शरीरका विभिन्न भागमा चोट लाग्नुका साथै मुखबाट पनि रगत बगिरहेकोले हाल अस्पतालको आकस्मिक उपचार उपचार कक्षमा उपचार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै