सांसदहरु प्रधानमन्त्रीको जथाभाबी नबोल्न निर्देशन – Nepalboli

सांसदहरु प्रधानमन्त्रीको जथाभाबी नबोल्न निर्देशन

   २०८१ श्रावण ७, सोमबार  

सोमवार संसदहरुको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी ओलीले संसदहरुलाई जथाभावी नबोल्न निर्देशन दिएका छन । उनले संसदहरुलाई मर्यादा समेत कायम राख्न भनेका छन । शून्य समयमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले उठाएको विषयहरु डेडिकेडेट र ट्रंक लाइन बारेमा जवाफ दिदै प्रधानमन्त्रीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले डेडिकेडेट र ट्रंक लाइन विद्युतको महसुल तिर्नुपर्ने विषयमा विश्वासको मत लिने क्रममा तथ्यभन्दा बाहिर गएर सफेद झुट बोलेको संसद दहालको भनाई थियो ।

प्रधानमन्त्री ओलीले दाहालले उठाएको र प्रधानमन्त्रीमाथि लगाएको झुटको आरोपको प्रस्टीकरण दिदै सांसदहरूलाई संसद्को मर्यादा कायम गर्न र जथाभाबी नबोल्न निर्देशनशैलीमा सम्झाउने प्रयास गरे ।

‘हामी गरिमामय संसदमा छौँ । यहाँ हामीले बोल्दा भएका र सही कुरा बोल्ने गरौँ । तथ्ययुक्त कुरा बोलौँ र जथाभाबी नबोलौँ’, प्रधानमन्त्रीले राजनीतिक पार्टी फरक भयो भन्दैमा झुटको सहारा नलिऔँ भनेर सम्झाउने प्रयास गरेका थिए । प्रधानमन्त्रीले जवाफ दिने क्रममा विषयान्तर भएपछि माओवादी केन्द्रका सांसद वर्षमान पुनले उठेर सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउन पुगे । ‘प्रधानमन्त्री कुन सन्दर्भमा बोल्दै हो ? किन सांसदलाई गालीगलौज भन्दै पुनले प्रश्न उठाएपछि सभामुख घिमिरेले ध्यानाकर्षण भएको भन्दै पुनलाई आसन ग्रहण गर्न र प्रधानमन्त्रीलाई विषय केन्द्रित भएर अगाडि बढ्न निर्देशन दिन पुगे ।

रोष्ट्रमबाट पुनको कुरा सुनेका प्रधानमन्त्री ओलीले ‘कसले गाली गरेको छ र ? भनेर प्रतिप्रश्न गर्न पुगेका थिए । सभामुखको निर्देशनपछि पनि प्रधानमन्त्रीले आफू विषय केन्द्रित नै भइरहेको भन्दै सांसद गुरुङले सोधेको प्रश्नको जवाफमा पुन केन्द्रित भए ।

पुनसँग मात्र होइन प्रधानमन्त्रीको नोकझोंक माओवादीका अर्का सांसद दुर्गा राईसँग पनि पर्‍यो । प्रधानमन्त्रीलाई सांसद दुर्गा राईले एमाले कांग्रेसबीच सत्ता समीकरण फेरबदलबारे मध्यरातमा किन सहमति गरेको ? उज्यालोमा सहमति गर्दा के हुन्थ्यो ? भन्दै प्रश्न गरेकी थिइन् ।

जवाफमा प्रधानमन्त्री ओलीले राजनीतिक क्रियाकलापको अफिस बन्द नहुने भन्दै मध्यरात वा दिउँसो जतिवेला पनि सहमति हुनसक्ने जवाफ दिएका थिए । प्रधानमन्त्रीले राजनीतिक दलहरूबीच ‘एएम कि पीएम’मा सहमति गर्ने भनेर कहीँ कतै उल्लेख नभएको जवाफ दिएका थिए ।

‘राजनीतिक पार्टीहरूका बीच सहमति एएमभित्र हुनुपर्छ कि पीएमभित्र, कति बजेर कति मिनेट जाँदा हुनुपर्छ, यस्तो कुनै कहीँ कतै छ र ?’, प्रधानमन्त्री ओलीले राईसँग उल्टै प्रतिप्रश्न गरेका थिए । प्रधानमन्त्रीले पोलिटिकल पार्टीहरूको अफिस अफ नहुने राईलाई जवाफ दिए । ‘पोलिटिकल पार्टीहरूको अफिस अफ हुँदैन । घडीको अफिस अफ हुँदैन । समयको गति अफ हुँदैन’, उनले भने, ‘समय गतिशील हुन्छ । त्यसबेला थकाइ लागेकाहरू सुत्छन् । थकाइ नलागेकाहरू बस्छन्, काम पनि गर्छन् । लेखक, चिन्तकहरू बस्छन् । अरुपनि बस्छन्, विचार विमर्श गर्नेहरू बस्छन् । त्यसैले यस्तो विषयमा टाउको दुखाएर समय खेर फाल्नु म कुनै आवश्यकता देख्दिनँ ।’

उनले सात बुँदे सहमतिबारे आफूले आइतबारकै संसदमा जानकारी दिएको पनि बताए । उनले भने, ‘हिजो मैले सात बुँदेबारे भनिसकेँ । देश र जनताका हितका लागि । अव कसै कसैलाई मर्का परेको हुनसक्छ । त्यो बेग्लै कुरा हो तर यो देशको र जनताको हितको पक्षमा छ ।’ संसदमा ओलीले ९ सांसदका डेढ दर्जन हाराहारीका प्रश्नको जवाफ दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै