उत्साह लिएर मन्त्रालयमा आएको छु- स्वास्थ्य मन्त्री पौडेल – Nepalboli

उत्साह लिएर मन्त्रालयमा आएको छु- स्वास्थ्य मन्त्री पौडेल

   २०८१ असार ३१, सोमबार  

नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले उत्साहका साथ मन्त्रालयको जिम्मेवारीमा आएको बताउनुभएको छ। सोमबार पद बहालीपछि कर्मचारीसँगको छलफलमा उहाँले उत्साहका साथ मन्त्रालयमा आएको र त्यही उत्साहसहित बिदा हुने चाहना रहेको बताउनुभएको हो।

सोमबार मन्त्रालयमा पद बहालीपछि कर्मचारीसँगको छलफल कार्यक्रममा उहाँले यस्तो विचार व्यक्त गर्नुभएको हो। उहाँले भन्नुभयो, “जुन उत्साह लिएर मन्त्रालय आएको छु, त्यही उत्साहसहित बिदा हुने चाहना छ। देशमा सबै तिर निराशा छ, केही गरेको म्यासेज छोड्न चाहन्छु, त्यसका लागि लामो अनुभव, अध्ययन भएका सबैसँग सहकार्य गरेर अघि बढ्छु।” उहाँले आफू विधि सिकाउने, पद्धति सिकाउने मन्त्रालयमा आएको बताउनुभयो।

उहाँले भन्नुभयो, “राजनीति लिगेसी यहाँ देखिँदैन, स्वास्थ्य मन्त्रालयलाई कसरी राम्रो गर्ने त्यतातर्फ म लाग्छु, मन्त्रालय सुधार्न के गर्न सकिन्छ आफ्नो बुद्धि विवेक, अनुभव र क्षमताका आधारमा भन्नुहोला।”

यहाँ ठुला कुरा गर्न गाह्रो भए पनि सानासाना काम गर्न सकिने जिकिर गर्नुभयो। साझा उद्देश्य पूरा गर्ने तिर आफ्नो जिम्मेवारी सम्झेर सबै लाग्न उहाँले सबै कर्मचारीलाई निर्देशन दिनुभयो। उहाँले भन्नुभयो,“नेपालको स्वास्थ्य सेवामा आम नागरिकले सहजता अनुभव हुने कसरी बनाउन सकिन्छ त्यतातर्फ लाग्छु, सबैको क्षमताले भ्याउने गरी काम गर्नुपर्छ। म निर्देशन दिने तिर होइन मिलेर काम गर्ने तिर लाग्छु।”

स्वास्थ्य सचिव रोशन पोखरेल म्याटरलाई बुझेर निर्णय गर्ने नवनियुक्त मन्त्रीको स्वभावलाई मन्त्रालयमा लागू गर्न पाए मन्त्रालयले प्रगति गर्नेमा आफू ढुक्क रहेको र त्यसका लागि मन्त्रालयका सिङ्गो कर्मचारीले साथ दिने बताउनुभयो।

उहाँले भन्नुभयो, “आगामी दिनमा देखिने गरेर परिवर्तनको अनुभूति मन्त्रालयले चाहेको छ। टिमवर्क बाट अघि बढ्न तयार छौँ।”

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै