चौथो पटक प्रधानमन्त्रीमा एमाले अध्यक्ष ओली नियुक्त, शपथ भोली हुने
राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीलाई आइतबार प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । अध्यक्ष ओलीलाई संविधानको धारा ७६ (२) अनुसार राष्ट्रपति पौडेलले प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आइतबार विज्ञप्ति सार्वजनिक गर्नुहुँदै राष्ट्रपतिले प्रतिनिधि सभाका सदस्य केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको जानकारी दिनुभएको हो ।
गएको शुक्रबार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको रूपमा प्रतिनिधि सभाबाट विश्वास गुमाउनु भएको थियो । सङ्घीय संसदमा उपस्थित २५८ सांसदमध्ये प्रचण्डले पेस गर्नुभएको विश्वासको मतको पक्षमा ६३ र विपक्षमा १९४ मत परेको थियो । एक सांसद तटस्थ बस्नुभएको थियो ।
प्रचण्डले सदनबाट प्रधानमन्त्री पद गुमाएलगत्तै राष्ट्रपति पौडेलले शुक्रबार प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको थियो । सो समय आइतबार अपरान्ह ५ बजेसम्म निर्धारण गरिएको थियो । निर्धारित समयभित्र प्रतिनिधि सभाका प्रमुख दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले प्रधानमन्त्रीमा ओलीलाई नियुक्त गर्न आग्रह गर्दै संयुक्त रूपमा राष्ट्रपतिसमक्ष दाबी पेस गरेका थिए ।
प्रधानमन्त्रीमा चौथो कार्यकालका लागि नियुक्त हुनुभएका अध्यक्ष ओली यसअघि २०७२ असोज २५ मा प्रथम पटक प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । सो कार्यकाल करिब १० महिना अर्थात् २०७३ साउन १९ गतेसम्म कायम रह्यो । त्यस्तै, दोस्रो पटक ओली २०७४ फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । सो कार्यकाल ३ वर्ष ९ महिना अर्थात् २०७८ वैशाख ३० गतेसम्म कायम रह्यो ।
सोहीअनुसार प्रधानमन्त्रीमा उहाँको तेस्रो कार्यकाल २०७८ वैशाख ३० देखि २०७८ असार २९ अर्थात् दुई महिना प्रधानमन्त्रीमा कायम रहनुभयो । तत्कालीन नेकपामा विभाजन आएपछि उहाँ पुनः प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । अहिले चौथो कार्यकालका लागि २०८१ असार ३० गते उहाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।
शपथ सोमबार बिहान ११ बजे
प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ सोमबार बिहान लिनुहुने भएको छ।उहाँले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार बिहान ११ बजे शपथ लिनुहुने विशेष कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।
राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको शपथमा उपस्थित हुने सांसदलाई सोमबार बिहान साढे १० बजेभित्र शीतल निवास प्रवेश गरिसक्न अनुरोध गरेको छ।
राष्ट्रपति कार्यालयका सहसचिव शैलजा रेग्मी भट्टराईले असार ३१ गते बिहान ११ बजे हुने शपथ समारोहमा उपस्थित हुन सङ्घीय संसद्का सम्पूर्ण सदस्यलाई निमन्त्रण गर्नुभएको हो।