प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा – Nepalboli

प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

   २६ असार २०८१, मंगलवार  

सिराहाको नरहा गाउँपालिकाको कार्यालयका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भवेश कुमार झाविरुद्ध सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको मुद्दा दायर भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार आर्थिक वर्ष २०७४/७५ मा कार्यालयले नियोमेड इन्टरनेशनलसँग खरिद गरेको ५७ प्रकारका औषधीजन्य मालसामानहरूको नियम विपरीत भुक्तानी आदेश र जिन्सी दाखिला प्रतिवेदन बिना नै आपूर्तिकर्ताले पेस गरेको बिल बमोजिम छ लाख २० हजार ९६ रुपियाँ बराबरको औषधीजन्य वितरण नगरी-नगराई हानिनोक्सानी गराइएको छ ।

तत्कालीन लेखापाल सुरेश कुमार कुसियैतले औषधीजन्य मालसामानहरूको बिल बमोजिमको रकम आपूर्तिकर्तालाई भुक्तानी गरेर सो बराबरको रकम हानिनोक्सानी पुर्‍याएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, आयोगका अनुसार कास्कीको पोखरा महानगरपालिका वडा नं २२ पुम्दी भुम्दी तारेभिरस्थित दुर्गा आधारभूत विद्यालयका तत्कालीन शिक्षक बोधराज पौडेलविरुद्ध झुट्टा विवरण पेस गरी शिक्षकको नियुक्ति लिएको आरोप लागेको छ ।

पौडेलले २०४९ मङ्सिर १९ गते अस्थायी एवम् २०६० चैत २६ मा स्थायी दुवै नियुक्तिको समयमा जन्म मिति २०१३-०१-२७ भएको नागरिकता पेस गरेको तर शैक्षिक प्रमाणपत्रमा उल्लेख भएको उमेरभन्दा सात वर्ष कम अर्थात् २०२० वैशाख २७ गते उल्लेख रहेको आयोगले जनाएको छ ।

२०८० वैशाख २६ गतेसम्म प्रावि तृतीय श्रेणीको स्थायी शिक्षकको रूपमा अध्यापन गरी २०७९ चैत मसान्तसम्मको तलबभत्तासहितको ओहोदा, लाभ तथा सरकारी सेवा, सुविधा समेत प्राप्त गरेको र निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ बमोजिम कसुर भएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, धनुषाको गणेशमा चारथान नगरपालिका वडा नं १० बरमझियाका राहत शिक्षक ब्रह्मदेव यादवविरुद्ध नक्कली अध्यापन अनुमति पत्रसम्बन्धी मुद्दा दायर भएको छ । आयोगका अनुसार यादवले २०६३ सालदेखि निमावि राहत शिक्षकको नक्कली स्थायी अध्यापक अनुमति पत्र पेस गरी नियुक्ति लिएका थिए ।

उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवानाको सजाय हुन मागदाबी लिई मंगलबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै