गठबन्धन कार्यदल बैठक साकारात्मक, सिट बाडफाडको मोडलको खोजी – Nepalboli

गठबन्धन कार्यदल बैठक साकारात्मक, सिट बाडफाडको मोडलको खोजी

   २६ श्रावण २०७९, बिहीबार  

अर्को बैठक साउन ३० मा बस्ने

सत्ता गठबन्धनको कार्यदल बैठकमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका लागि सहमतिको मोडालिटीबारे सकारात्मक छलफल भएको छ । बिहीबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा सहमतिको मोडालिटीबारे सकारात्मक छलफल भएको हो ।

कार्यदलका सदस्य देव गुरुङले भने, ‘ सिट बाँडफाँटको सहमतिका लागि मोडालिटी बनाउनेबारे आज छलफल भएको छ । छलफल सकारात्मक भएको छ ।’ कार्यदलमा आज छलफल भएको विषयमा पाँच दलले आ आफ्नो पार्टीभित्र पनि छलफल गर्ने बताए । गुरुङका अनुसार कार्यदलको अर्को बैठक साउन ३० गते बस्ने छ ।

उनले विगतमा दलहरूले पाएको मतलाई आधार बनाएर सिट बाँडफाँट गर्ने मोडालिटीबारे पनि छलफल गरिएको बताए । ‘स्थानीय चुनाव, विगतको संसदीय चुनावमा आएका मतलाई हेर्ने कुरा छ । विगतमा भएका चुनावका मत मात्रै आधार भने हुँदैन। केही दल पहिले अस्तित्वमा थिएनन्,’ ,’ उनले भने ।

सिट बाँटफाँटमा सत्ता गठबन्धनले देखेको आधारहरु

संघ र प्रदेशको चुनावमा सिट बाँडफाँटका लागि ४ आधारमाथि छलफल सुरु गरेको छ । बिहीबार बालुवाटारमा बसेको कार्यदलको बैठकमा गठबन्धनमा आवद्ध दलहरुले आआफ्नो प्रस्ताव पेस गरे । राष्ट्रिय जनमोर्चाका तर्फबाट कार्यदल सदस्य रहेका हिमलाल पुरीले बैठकमा सिट बाँडफाँटको चार आधारमाथि छलफल भएको बताए ।

उनका अनुसार २०७४ को निर्वाचनको प्रत्यक्षतर्फ जितेको सिट, त्यतिबेला समानुपातिक पद्धतितर्फ पाएको मत, २०७९ सालको स्थानीय तहको चुनाव र केही राजनीतिक विषयलाई आधार मानेर सिट बाँडफाँट गर्नुपर्ने विकल्प बैठमा प्रस्तुत भएको छ ।

नेकपा एकीकृत समाजवादीको तर्फबाट कार्यदल सदस्य रहेका प्रमेश हमालले पनि विभिन्न विकल्प पेस भएको तर बिहीबरको छलफलको सुरुवात मात्रै भएको बताए । ‘बैठक भयो, कुराकानी सुरु भयो,’ उनले भने, ‘मोडालिटीबारे प्रस्ताव भएको छ, छलफल त्यति व्यापक भइसकेको छैन । अर्को बैठकमा हुन्छ ।’

बैठकमा पार्टीका मुख्य नेताहरुलाई कहाँ कसरी उठाउने भन्ने विषयमा समेत छलफल भएको थियो ।

माओवादी केन्द्रका तर्फबाट कार्यदल सदस्य रहेका देव गुरुङले बैठकबारे सञ्चारकर्मीलाई जानकारी गराउँदै एउटा कुनै आधारलाई मात्रै मानेर टुंगो पुग्न नसकिने बताए । उनले संसदमा अहिलेको उपस्थितिलाई प्रमुख आधार मान्ने विषयमा छलफल भएको पनि बताए ।

‘एउटा निर्वाचनलाई मात्रै अन्तिम रुपमा डेटाबेस बनाउन कठिन छ’, उनको भनाइ थियो, ‘त्यसैले सदनमा उपस्थितिको आधार, समानुपातिक मतलगायतलाई सहमतिको मोडालिटी बनाइएको छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै