कांग्रेस सहमहामन्त्री यादव भन्छन – हाम्रो सय सिट दाबी छ तर ९० सम्म मान्छौ – Nepalboli

कांग्रेस सहमहामन्त्री यादव भन्छन – हाम्रो सय सिट दाबी छ तर ९० सम्म मान्छौ

   २६ श्रावण २०७९, बिहीबार  

नेपाली काँग्रेसका सह–महामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवले १६५ सिटमध्ये काँग्रेसले १०० सिटमा दावी गर्ने बताएका छन । ‘तर, गठबन्धनभित्र सहमति कायम गर्नका लागि ९० सिटसम्म मान्न सकिन्छ’, यादवको भनाइ छ ।

उनले गठबन्धनको महत्वपूर्ण घटकको रुपमा रहेको नेकपा (माओवादी केन्द्र) लाई सन्तुष्ट बनाएर गठबन्धनभन्दा बाहिर जान नदिने पनि दावी गरेका छन । उने भने,‘माओवादीलाई जति दिनुपर्ने हो, त्यो दिन्छौं । हामी माओवादीलाई सन्तुष्ट गरेर हामीभित्रै राख्छौं । कांग्रेस आँफै शक्तिशाली छ । हामी सुध्रिएर नै जनता जोगाएका छौं ।’

उनले एमालेलाई लाजै नभएको पार्टीको पनि संज्ञा दिए । यस्तै, महाकाली सन्धि गलत हो भने केपी ओली पनि गलत भएको उनको टिप्पणी थियो ।

यादवले अब एमाले २० वर्षसम्म शासनमा नफर्कने ठोकुवा गरेका छन् । बिहीबार काठमाडौमा भएको साक्षात्कारमा उनले भने, ‘अब २० वर्षसम्म फेरि एमाले शासनमा फर्किन्छु भनेर त्यो आँट नगरे हुन्छ । नेपाली जनताले अब तपाईंहरुलाई शासनमा ल्याउँदैनन् । अब तपाईहरु कहाँ चुनाव जित्नुहुन्छ ?

उनले नागरिकता विधेयक पास दुवै सदनबाट भैसकेको र प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको सुनाउँदै तत्काल प्रमाणीकरण गर्न आग्रह गरे । उनले भने, ‘राष्ट्रपतिले अहिलेसम्म विधेयक प्रमाणीकरण नगरेर रोक्नुभएको छ, यो संविधानतः रोक्न मिल्दैन । राष्ट्रपतिलाई मौका छ, उहाँ अहिले पनि पार्टीको राजनीतिमा भन्दा माथि उठ्न सक्नुभएको छैन । हामी आशा गर्छौ कि भगवान पशुपतिनाथले बुद्धि देओस्, कि उहाँ सबैको राष्ट्रपति भएर सफल हुनुहोस् । अविलम्ब विधेयक प्रमाणीकरण गर्नुहोस् ।’

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै