सरकारद्धारा मंसिर ४ मा आम निर्वाचन गर्ने घोषणा
सरकारले अन्ततः मंसिर ४ गते देशैभर एकैचरणमा निर्वाचन गर्ने गरी आम निर्वाचनको मिति घोषणा गरेको छ । प्रतिनिधीसभा र प्रदेशसभाको एकैचरणमा चुनाव गर्ने गरी सरकारले बिहीबार (आज) निर्वाचन मिति घोषणा गरेको हो । मन्त्रीपरिषद बैठक पछि संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यो जानकारी दिएका छन ।
सरकारले घोषणा गरेको चुनाव आउन अब १०९ दिन मात्रै बाँकी छ । सरकारले आज बसेको मन्त्रिपरिषद्को बैठकबाट चुनावको मिति घोषणा गरेको हो । बैठकमा सहभागी एक मन्त्रीले मंसिर ४ मा देशैभर एकैचरणमा प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचन गर्ने गरी सरकारले मिति घोषणा गरेको जानकारी दिए ।
निर्वाचन मिति घोषणा अगाडी सत्तासिन दलहरुको गठबन्धनको बैठक बसेको थियो । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मंसिर ४ मा निर्वाचन घोषणा गर्ने विषयमा गठबन्धन दलहरुका वीचमा सहमति जुटाएको थियो । सोही सहमतिका आधारमा सरकारले विहिबार (आज) आम चुनावको मिति घोषणा गरेको हो ।
निर्वाचन आयोगले गत असारमै सरकारलाई मंसिर २ गते निर्वाचन गर्ने गरी मिति प्रस्ताव गरेको थियो । निर्वाचन तयारीका लागि आफुहरुलाई कम्तीमा १२० दिन आवश्यक पर्ने भन्दै आयोगले गत असार २२ मै प्रधानमन्त्री शेरवहादुर देउवालाई भेटेर मंसिर २ को चुनावको मिति प्रस्ताव गरेको थियो ।
तर सरकारले आयोगलाई तयारीका लागि १०९ दिन दिँदै मंसिर ४ गतेका लागि आम चुनावको मिति घोषणा गरेको हो । यो वीचमै दशैं लगायतका चाडपर्व पनि पर्छ ।
‘अब चुनाव कहिले हुने भन्ने अन्योल हटेको छ । मंसिर ४ को मिति घोषणा भएको छ’ सरकारका प्रवक्ता कार्कीलेभने, ‘अब दलहरुलाई चुनाव औपचारिक रुपमा नै लागेको छ ।’