प्रधानमन्त्री प्रचण्डले पाए तेस्रो पटक विश्वासको मत
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । उनले प्रतिनिधिसभाका १५७ जनाको समर्थन पाएका छन् । २६८ जनाले मतदान गरेका थिए । ११० जनाले विपक्षमा मत दिए भने १ जना तटस्थ रहे ।
उहाँको पक्षमा बहुमत मत प्राप्त भएकाले उहाँले विश्वासको मत प्राप्त गर्नुभएको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभयो । प्रतिनिधिसभामा कायम २७५ मध्ये आजको बैठकमा २६८ जनाको उपस्थिति रहेको थियो । एक जना सांसदले तटस्थमा मतदान गर्नुभयो ।
विश्वासको मत प्राप्त गर्न प्रतिनिधिसभामा कायम सदस्यको १३८ मत ल्याउनुपर्ने हुन्छ । प्रधानमन्त्री प्रचण्डलाई सोभन्दा बढी मत प्राप्त भएकाले उहाँले विश्वासको मत प्राप्त गर्नुभएको छ ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले यसअघि २०७९ पुस १० गते नेकपा एमालेको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त हुँदा पुस २६ गते पहिलो पटक संसद बैठकबाट विश्वासको मत लिनुभएको थियो । सोपछि ६२ दिनमा प्रधानमन्त्री प्रचण्डले एमालेसँग गठबन्धन त्यागी नेपाली काँग्रेससँग २०७९ फागुन १२ गते गठबन्धन गरी पुनः प्रधानमन्त्रीको जिम्मेवारीमा आउनुभएको थियो ।
एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उहाँले पुनः २०७९ चैत ६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिनुभएको थियो । अहिले फेरि काँग्रेससँग गठबन्धन त्यागी फागुन २१ गते एमालेसहित दलसँग नयाँ गठबन्धन बनाएर सरकारको जिम्मेवारीमा रहनुभएकाले काँग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोहीकारण प्रधानमन्त्री प्रचण्डले पुनः बुधबार तेस्रो पटक विश्वासको मत लिनुभएको हो ।
अहिलेको गठबन्धनमा प्रधानमन्त्रीसँग ६ दलको समर्थन रहेको छ । नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेकपा ९एस०, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र ३ सांसदले उहाँलाई पक्षमा विश्वासको मत दिनुभयो ।
प्रधानमन्त्री प्रचण्डको विपक्षमा नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेमकिपाका सांसदले मत दिनुभयो ।