नेपाल–भारत संयुक्त आयोगको बैठक भोली बिहीबार बस्दै – Nepalboli

नेपाल–भारत संयुक्त आयोगको बैठक भोली बिहीबार बस्दै

   २०८० पुष १८, बुधबार  

नेपाल–भारत संयुक्त आयोगको बैठक भोली बिहीबार काठमाडौमा बस्ने भएको छ । कोभिड महामारीका कारण विगत दुई वर्ष बैठक हुन सकेको थिएन । दुई वर्षअघि २०७७ माघ १ र २ गते भारतमा संयुक्त आयोगको बैठक बसेको थियो । त्यसयता रोकिएको बैठक यो यस पटक काठमाडौँमा हुन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुई देशका परराष्ट्रमन्त्रीद्वयको नेतृत्वमा हुने बैठकले प्रधानमन्त्रीस्तरमा हुने भ्रमण र सहमति जत्तिकै महत्व राख्छ ।

आयोगको बैठकमा सहभागी हुनका लागी भारतका परराष्ट्रमन्त्री एस जयशंकर भोली विहान नेपाल आउदै छन ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार भारतका विदेशमन्त्री जयशङ्करको भ्रमण र आयोगको बैठकको तीव्र तयारी भइरहेको छ । कार्यसूचीका विषयमा नेपाल–भारत हेर्ने महाशाखाले अन्तिम तयारी गरिरहेको छ । उहाँले भन्नुभयो, “नेपाल–भारत द्विपक्षीय सम्बन्धका साथै विगतको बैठकदेखि हालको बैठकका बिचमा भएका विकास परियोजनाको समीक्षा हु्ने छ ।”

लामो समय बस्न नसकेको बैठक भएकाले पनि यो पटक कार्यसूची लामो हुने सम्भावना छ । त्यसका लागि मन्त्रालयको संयन्त्र र भारत सरकारका तर्फबाट नेपालस्थित भारतीय दूतावासले सम्भावित सहमतिको मस्यौदा तयार गर्दै छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो वर्ष नेपाल–भारतबिच विद्युत् व्यापार र उत्पादनसम्बन्धी ठुलो सहमति हुने उद्घोष केही दिनअघि राष्ट्रिय सम्बोधनका क्रममा गर्नुभएको छ । सोही अनुसार दुई देशबिच यो बैठकले सकेसम्म विद्युत् व्यापारलाई सहज बनाउने र त्यसको अधिकतम उपभोग गरेर नेपालले फाइदा लिनेबारे ध्यान केन्द्रित गर्ने छ ।

दुई देशबिचको व्यापार असन्तुलन कम गर्ने, आयात निर्यातमा सन्तुलन कायम गर्ने, भारतलाई नेपालमा लगानीका लागि प्रोत्साहन गर्ने तथा रोकिएका विकास परियोजनालाई छिटोछरितो रूपमा कार्यान्वयनमा लैजाने विषयमा गहन छलफल गर्नेगरी बैठकको तयारी भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै