देशलाई लज्जित बनाउने गरि विमानस्थलबाटै श्रृंखलाबद्ध सुन तस्करी – Nepalboli

देशलाई लज्जित बनाउने गरि विमानस्थलबाटै श्रृंखलाबद्ध सुन तस्करी

   २०८० मंसिर २५, सोमबार  

फ्लाई दूबईको उडान नं एफजेड–५७३ मार्फत शनिबार राति ११ः४० बजे काठमाडौं उत्रिएका इजिप्टका नागरिक सरिफ मोहम्मद लासिम साढे ६ किलो सुन सहित पक्राउ परे ।विमानस्थलभित्रै भन्सार कार्यालयले बिहीबार मध्यराति नै १४ किलो सुन बरामद गरेको थियो । दुबईबाट आएका गोरखाका चन्द्र घले उक्त सुन सहित पक्राउ परेका थिए । अनुसन्धान अधिकृतहरुका अनुसार चन्द्र घले सन् २०२३ मा मात्रै पाँच पटक दुबई पुगेर फर्किएको भेटिएको छ, जसले यो गिरोहले पहिल्यैदेखि सुन ल्याइरहेको हुनसक्ने संकेत गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले पनि शुक्रबार नागढुंगाबाट २ किलो सुन बरामद गरेको थियो । एसएसपी राठौरका अनुसार, सुराकीका आधारमा स्कर्पियोभित्र लुकाएर ल्याउँदै गरेको सुनसहित ३ जनालाई पक्राउ गरिएको थियो ।

कार्यालयले २० मंसिरमा न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो सुन समेत बरामद गरेको थियो । प्रहरीका अनुसार, ओमपाल गोल्ड शपका सञ्चालक पदमप्रसाद पाण्डेले स्रोत खुल्ने एक किलो सुन आफूसँग हुँदा थप १० किलो अवैध सुन विक्री गर्ने गरेको खुलेको छ ।

‘प्यानमा दर्ता गरेर चलाएको पसलमा उनले एक किलो सुनको विल देखाएर थप १० किलो तस्करीको विक्री गर्ने गरेको सूचना पाएपछि छापा मारेको थियौं’, एसएसपी राठौर भन्छन्, ‘त्यसक्रममा ७ किलो ८ सय ग्राम सुन बरामद गर्‍यौं ।’

यससँगै काठमाडौं उपत्यकामा पछिल्लो पाँच दिनमा मात्रै ३०.३ किलो सुन बरामद भएको छ ।

२ साउनमा राजश्व अनुसन्धान विभागले ब्रेक शुमा लगाएर ल्याएको ६० किलो सुन बरामद गरेको थियो । विद्युतीय सिगरेट (भेप) मा लुकाएर भएको भनिएको ९ किलो सुनका साथै यसमा राजनीतिक संलग्नता आशंका भएपछि उच्चस्तरीय छानबिन गर्ने सहमति भयो । त्यही सेरोफोरोमा दोलखाको लामा बगर क्षेत्रमा ११ किलो सुन बरामद भयो । अभियोग दायर गर्ने क्रममा प्रहरीले सोही समूहले ३३ किलो तस्करी गरिसकेको निष्कर्षसहित प्रतिवेदन बुझाएको थियो ।

२०७४ सालमा पनि तस्करीको ३३ किलो सुन हराएपछि भरिया सनम शाक्य मारिँदा सुन प्रकरण चर्चामा आएको थियो । त्यसबेला सरकारले सहसचिव ईश्वराज पौडेलको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति बनाएको थियो ।

समितिले विमानस्थल सुरक्षामा गम्भीर प्रश्न औंल्याउँदै प्रतिवेदन दिएपनि त्यसलाई सरकारले न सार्वजनिक गर्‍यो न त सुझावहरु नै कार्यान्वयनमा लग्यो । अहिले फेरि अर्को आयोगले सुनबारे छानबिन गरिरहेका बेला दिनहुँजसो सुन बरामद भइरहेका छन् ।

गत बषएको ८ पुस २०७९ मा सुडानी नागरिक २७ वर्षीय मोहमद अहमद डाफल्ला सराफिल्दनले तस्करी गर्न खोजेको १९ किलो सुन पनि ‘वाक थ्रु’ गेटमा डिटेक्ट भएको थिएन । उनले बोकेको अर्धठोस सामान जाँच्दा १९ किलो सुन रहेको पुष्टि भएको थियो । भन्सारका कर्मचारीहरुले १८ माघ २०७९ मा पनि ९ किलो १३५ ग्राम सुन विानस्थलवाटै समातेका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै