राम–सीताको जन्मभूमि जोडियो, अयोध्या–जनकपुर रेल सेवाले खोल्यो धार्मिक पर्यटनको नयाँ बाटो
जनकपुरधाम— भगवान् रामको जन्मभूमि अयोध्या र माता सीताको जन्मभूमि जनकपुरधाम अब प्रत्यक्ष रेल सेवाबाट जोडिएका छन् । दुई ऐतिहासिक तथा धार्मिक नगरीबीच सुरु भएको रेल सेवाले नेपाल–भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई नयाँ आयाम दिनुका साथै जनकपुरधामको धार्मिक पर्यटनमा नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ ।
नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट संयुक्त रूपमा भर्चुअल उद्घाटन गरेपछि अयोध्याबाट जनकपुरधामका लागि पहिलो रेल प्रस्थान गरेको हो ।
‘सरयु–कमला एक्सप्रेस’ नाम दिइएको उक्त रेलमा १७ वटा डिब्बा छन् । एक हजारभन्दा बढी यात्रु बोकेर अयोध्याबाट हिँडेको रेल मङ्गलबार बिहान जनकपुरधाम आइपुग्ने कार्यक्रम छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसहित भारतीय रेल्वेका उच्च अधिकारीले अयोध्याबाट रेललाई बिदाइ गरेका छन् ।
अयोध्याबाट आउने यात्रुको स्वागतका लागि जनकपुरधाम रेल्वे स्टेसनमा विशेष तयारी गरिएको छ । मिथिलाको मौलिक कला, संस्कृति र परम्परा झल्किने झाँकी, गीत–सङ्गीत तथा सांस्कृतिक प्रस्तुतिमार्फत भारतीय श्रद्धालु तथा पर्यटकको स्वागत गर्ने तयारी गरिएको हो ।
स्टेसन परिसरमा स्वागतका लागि विशेष पण्डाल तथा मञ्च निर्माण गरिएको छ भने आसपासको सरसफाइलाई पनि प्राथमिकता दिइएको छ । रेल्वे ट्र्याक वरिपरि रहेका प्लास्टिक तथा अन्य फोहोर हटाउन एक सातादेखि २० देखि २५ जनाको टोली परिचालन गरिएको थियो ।
नेपाल रेल्वेका महाप्रबन्धक परिवेश पराजुलीका अनुसार अयोध्याबाट आउने यात्रुको स्वागतका लागि आवश्यक तयारी पूरा गरिएको छ । स्टेसन परिसरमा निर्माण गरिएको मञ्चबाट मिथिलाको संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ ।
विवाहपञ्चमीअघि सुरु भएको रेल सेवाले बढाउनेछ धार्मिक आवागमन
अयोध्या–जनकपुर रेल सेवा सुरु भएको केही समयमै जनकपुरधाममा प्रसिद्ध सीताराम विवाहपञ्चमी महोत्सव हुँदैछ । विवाहपञ्चमीमा अयोध्याबाट साधुसन्त, महन्थ तथा श्रद्धालु जन्तीका रूपमा जनकपुरधाम आउने परम्परा छ ।
यसपटक प्रत्यक्ष रेल सेवा उपलब्ध भएपछि विवाहपञ्चमीमा अयोध्याबाट आउने धार्मिक यात्रुको आवागमन अझ सहज हुने अपेक्षा गरिएको छ । राम–सीताको विवाहसँग जोडिएको जनकपुरधामको विवाहपञ्चमी र अयोध्याको राम मन्दिर दर्शनलाई एउटै धार्मिक यात्रामा जोड्न रेल सेवाले महत्वपूर्ण भूमिका खेल्न सक्ने देखिन्छ ।
जनकपुरधामका स्थानीय तथा पर्यटन व्यवसायीले रेल सेवालाई धार्मिक पर्यटन विस्तारको अवसरका रूपमा हेरेका छन् । भारतीय पर्यटकको संख्या बढेमा होटल, रेस्टुरेन्ट, यातायात, हस्तकला तथा स्थानीय व्यापारमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
‘रामको दर्शनपछि जानकीको दर्शन’ सहज
हिन्दु धार्मिक परम्परामा अयोध्यालाई भगवान् रामको जन्मभूमि र जनकपुरधामलाई माता सीताको जन्मभूमिका रूपमा मानिन्छ । त्रेतायुगमा राजा जनककी छोरी सीता र अयोध्याका राजकुमार रामबीच भएको विवाहले यी दुई सहरलाई धार्मिक तथा सांस्कृतिक रूपमा जोड्दै आएको छ ।
तर प्रत्यक्ष यातायातको सहज माध्यम नहुँदा लामो समयदेखि दुवै धार्मिक नगरीको दर्शन गर्न चाहने श्रद्धालुले कठिनाइ भोग्दै आएका थिए ।
अब रेल सेवाले अयोध्यामा रामललाको दर्शन गर्ने श्रद्धालुलाई जनकपुरधाम आएर जानकी मन्दिरमा पूजा–अर्चना गर्ने अवसर सहज बनाउनेछ । त्यसैगरी जनकपुरधाम आउने श्रद्धालुले अयोध्या पुगेर राम मन्दिर दर्शन गर्न सक्नेछन्।
‘