पश्चिमी वायुको प्रभाव कायमै, कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना – Nepalboli

पश्चिमी वायुको प्रभाव कायमै, कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना

   २०८३ कार्तिक ९, आईतवार  

काठमाडौँ— पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका हिमाली तथा पहाडी क्षेत्रमा मौसममा बदली देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका अधिकांश भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ ।

महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।

आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ । बाँकी हिमाली तथा पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

तराई, काठमाडौँ उपत्यका तथा पहाडी खोँचहरूमा बिहानको समयमा केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ । यसले बिहानको समयमा सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ ।

यस्तै, सोमबार पनि हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ । सोमबार कोशी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने पूर्वानुमान महाशाखाले गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै