टीका थापेर फर्किनेको लर्कोले नागढुंगा–जगाती जाम, ५ लाख ७६ हजार बाहिरिएपछि उपत्यका फर्किने क्रम सुरु
काठमाडौं— दसैंको टीका र जमराले सुनसान बनेको काठमाडौं उपत्यका फेरि भरिन थालेको छ । टीका थापेर गाउँबाट फर्किने यात्रुको लर्कोले उपत्यका भित्रिने सबै नाका भरिन थालेका छन् ।
दसैं मनाउन खाली भएको उपत्यका बिस्तारै पुरानै लयमा फर्किँदै गर्दा नागढुंगा–कलंकी, जडीबुटी–कोटेश्वर, तीनपिप्ले, भक्तपुरको जगाती र दक्षिणकाली–फर्पिङ सडकखण्डमा सवारी चाप ह्वात्तै बढेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार अहिले दैनिक निजी कार, जिप, मोटरसाइकल र सार्वजनिक बस गरी करिब एक हजार हाराहारी सवारीसाधन उपत्यका भित्रिइरहेका छन् । यो संख्या दिनहुँ बढ्दै गएको छ ।
ट्राफिक प्रहरी प्रमुख, एसएसपी सुरेशप्रसाद काफ्लेले फर्किने यात्रुको चापलाई सहज बनाउन सबै नाकामा ट्राफिक प्रहरीको बाक्लो परिचालन गरिएको बताए। प्रवक्ता नरेशराज सुवेदीका अनुसार जाम व्यवस्थापनसँगै दुर्घटना रोक्न निगरानी बढाइएको छ ।
कार्यालयको तथ्याङ्कले दसैंमा कति ठूलो संख्यामा मानिस बाहिरिएका थिए भन्ने देखाउँछ । घटस्थापनादेखि कात्तिक ३ गतेसम्म मात्रै ७९ हजार ६७६ वटा गाडीमार्फत ५ लाख ७६ हजार ५७८ जना उपत्यका बाहिरिएका थिए ।
अब तिनै ५ लाख बढी मानिस धमाधम उपत्यका फर्किने क्रममा छन्, जसले भोलिसम्म नागढुंगा र जगाती नाकामा सवारी चाप झनै चर्काउने अनुमान छ ।