मुगुमा सडक काट्ने क्रममा पहिरो, एक्स्काभेटरसहित चालक पुरिए
सुर्खेत—मुगुको खत्याड गाउँपालिका–११ स्थित बिरा खोलामा सडक कटिङ गर्ने क्रममा सुक्खा पहिरो खस्दा एक्स्काभेटरसहित चालक पुरिएका छन् । घटनामा सहचालक घाइते भएका छन् ।
मुगु–रारा भित्री सडकखण्डमा आज बिहान करिब ८ः३० बजे सडक निर्माणका लागि कटिङ गरिरहेका बेला माथिबाट सुक्खा पहिरो खसेको प्रहरीले जनाएको छ । पहिरोमा बझाङका २४ वर्षीय चालक विमल बाग एक्स्काभेटरसहित पुरिएका हुन् ।
घटनामा २२ वर्षीय सहचालक विनय मल्ल ढुङ्गाले लागेर हातखुट्टामा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको बताइएको छ ।
पुरिएका चालकको उद्धारका लागि प्रहरीको १३ सदस्यीय टोली घटनास्थलमा परिचालन गरिएको छ । प्रहरीले उद्धार कार्य जारी रहेको जनाएको छ ।
घटनाको थप विवरण तथा चालकको अवस्थाबारे जानकारी आउन बाँकी छ ।