उदयपुरमा भारतको सहयोगमा निर्मित खानेपानी तथा सरसफाइ परियोजना उद्घाटन
काठमाडौं— कोशी प्रदेशको उदयपुरस्थित त्रियुगा नगरपालिका–५ मा भारत सरकारको आर्थिक सहयोगमा निर्मित श्रीपुर खानेपानी आपूर्ति तथा सरसफाइ परियोजना उद्घाटन गरिएको छ ।
काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंह र त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतले संयुक्त रूपमा परियोजनाको उद्घाटन गरेका हुन् ।
भारतीय राजदूतावासले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार उक्त परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत निर्माण गरिएको हो । परियोजना त्रियुगा नगरपालिकामार्फत कार्यान्वयन गरिएको हो ।
परियोजना उद्घाटनका क्रममा त्रियुगा नगरपालिकाका मेयर तथा अन्य सरोकारवालाहरूले भारत सरकारबाट प्रदान हुँदै आएको विकास सहयोगको प्रशंसा गरेका थिए । नयाँ खानेपानी आपूर्ति तथा सरसफाइ सुविधाले स्थानीय समुदायको जीवनस्तर सुधार गर्न मद्दत पुग्ने विश्वास उनीहरूले व्यक्त गरेका छन् ।
भारतीय राजदूतावासका अनुसार उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम सुरु भएयता भारत सरकारले नेपालका ७ वटै प्रदेश र ७४ जिल्लालाई समेटेर ६०५ वटा परियोजना सञ्चालन गरेको छ ।
यसअन्तर्गत उदयपुर जिल्लामा १२ वटा परियोजना रहेका छन् भने कोशी प्रदेशमा १०३ वटा परियोजना सञ्चालनमा छन् ।
त्यसैगरी, भारत सरकारले उदयपुर जिल्लामा १३ वटा एम्बुलेन्स र २ वटा स्कुल बस उपलब्ध गराएको छ । कोशी प्रदेशका स्वास्थ्य तथा शिक्षा क्षेत्रमा कार्यरत विभिन्न संस्थाहरूलाई भारत सरकारले १५० वटा एम्बुलेन्स र ९ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ ।
भारतीय राजदूतावासले नेपाल र भारतबीच व्यापक तथा बहुआयामिक सहकार्य रहेको उल्लेख गर्दै उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकास गर्नुका साथै विकास र समृद्धिलाई अघि बढाउने नेपाल सरकारको प्रयासमा भारतको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्ने जनाएको छ ।