७५३ पालिकामध्ये १०० मा महिला नेतृत्वलाई प्राथमिकता दिने कांग्रेसको घोषणा – Nepalboli

७५३ पालिकामध्ये १०० मा महिला नेतृत्वलाई प्राथमिकता दिने कांग्रेसको घोषणा

   २०८३ आश्विन १९, सोमबार  
gagan thapa

काठमाडौँ— नेपाली कांग्रेसले आगामी स्थानीय तह निर्वाचनमा महिला नेतृत्वलाई प्राथमिकता दिने नीति अघि सारेको छ । कांग्रेस सभापति गगनकुमार थापाले देशभरका ७५३ स्थानीय तहमध्ये कम्तीमा १०० पालिकामा महिला मेयर वा अध्यक्षलाई उम्मेदवार बनाउने योजना सार्वजनिक गरेका छन् ।

कांग्रेस महाधिवेशनको बन्दसत्रमा बोल्दै सभापति थापाले उम्मेदवार छनोटका लागि केन्द्रीय कार्यालयअन्तर्गत ‘इलेक्सन ब्युरो’ गठन गर्ने जानकारी दिए । उक्त ब्युरोले स्थानीय तहका उम्मेदवार छनोट गर्ने र आवश्यकता तथा उपयुक्तताका आधारमा पार्टी बाहिरका व्यक्तिलाई समेत उम्मेदवार बनाउन सकिने उनको भनाइ थियो ।

थापाले स्थानीय तहको नेतृत्वका लागि उम्मेदवार तयार पार्न ‘लिडरसिप एकेडेमी’ स्थापना गर्ने योजना पनि अघि सारे । उनका अनुसार एकेडेमीको प्रशिक्षण पूरा गरेका व्यक्तिलाई मात्र उम्मेदवार बनाउने व्यवस्था गरिनेछ ।

स्थानीय तहको नेतृत्वमा पुग्ने व्यक्तिले स्थानीय सरकार सञ्चालन, सार्वजनिक वित्त, जलवायु परिवर्तनलगायत विषयमा आधारभूत ज्ञान राख्नुपर्नेमा उनले जोड दिए । गाउँपालिका वा नगरपालिका सञ्चालन केवल राजनीतिक अनुभवले मात्र सम्भव नहुने भन्दै थापाले नेतृत्वलाई विषयगत रूपमा सक्षम बनाउनुपर्ने धारणा राखे ।

सभापति थापाले आफ्नो राजनीतिक दृष्टिकोणमा राज्य र नागरिकबीचको सम्बन्धलाई समेत प्राथमिकता दिएका छन् । राज्य नागरिकको अभिभावक भएकाले त्यसमा करुणा र समभाव हुनुपर्ने उनको भनाइ थियो । नागरिकका लागि पर्याप्त ‘सिभिक स्पेस’ निर्माण गर्नुपर्ने र नागरिकले आफ्ना विचार तथा सरोकार राख्ने फराकिलो मञ्च पाउनुपर्ने उनले बताए ।

थापाले नेपालको सांस्कृतिक पहिचान र राज्यको भूमिकाबारे पनि धारणा राखे। नेपाली समाजका चाडपर्व, संस्कृति र परम्परासँग राज्य पूर्ण रूपमा निरपेक्ष रहन नसक्ने भन्दै उनले सांस्कृतिक पहिचानलाई राज्यको नीतिसँग जोडेर अघि बढाउनुपर्ने बताए ।

त्यसैगरी, राजनीतिक प्रतिवेदनमा बजार, निजी क्षेत्र र सरकारको भूमिकाबीचको सम्बन्धबारे समेत चर्चा गरिएको उनले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै