एसिसी प्रिमियर कपः समूह विजेता बन्न नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दै – Nepalboli

एसिसी प्रिमियर कपः समूह विजेता बन्न नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दै

   २०८३ भाद्र २३, मंगलवार  

काठमाडौँ— एसिसी प्रिमियर कप २०२६ को समूह चरणमा अपराजित रहेको नेपाल आज अन्तिम खेलमा हङकङसँग प्रतिस्पर्धा गर्दैछ । लगातार तीन जित निकाल्दै बलियो अवस्थामा रहेको नेपालका लागि यो खेल समूह विजेताको टुंगो लगाउने महत्वपूर्ण अवसर बनेको छ ।

मलेसियामा जारी प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल क्वालालम्पुरस्थित बायुमास ओभलमा बिहान ७ः१५ बजे सुरु हुनेछ ।

नेपालले समूह चरणका तीनवटै खेल जित्दै ६ अंक जोडेको छ र तालिकाको शीर्ष स्थानमा छ। नेपालले पहिलो खेलमा बहराइनलाई ७ विकेटले पराजित गरेको थियो । त्यसपछि आयोजक मलेसियालाई ६ विकेट तथा साउदी अरेबियालाई ५ विकेटले हराउँदै नेपालले आफ्नो अपराजित यात्रा कायम राखेको हो ।

समूह चरणको अन्तिम खेलमा पनि जित निकाल्दै शीर्ष स्थान सुरक्षित गर्ने लक्ष्यमा नेपाल मैदान उत्रनेछ । प्रतियोगितामा हालसम्म ब्याटिङ र बलिङ दुवै पक्षमा प्रभावशाली प्रदर्शन गरेको नेपाल आत्मविश्वासका साथ हङकङविरुद्ध खेल्ने तयारीमा छ ।

हङकङले भने तीन खेलबाट दुई जित र एक हारसहित ४ अंक जोडेको छ । त्यसैले नेपालविरुद्धको खेल हङकङका लागि पनि महत्वपूर्ण हुनेछ ।

एकदिवसीय क्रिकेटमा नेपाल र हङकङबीच हालसम्म चार पटक प्रतिस्पर्धा भएको छ । तीमध्ये नेपालले एक खेल जित्दा हङकङले दुई खेल आफ्नो पक्षमा पारेको छ । एक खेल भने वर्षाका कारण रद्द भएको थियो ।

यी दुई टोलीबीच पछिल्लो एकदिवसीय भेट सन् २०१८ मा भएको थियो। उक्त खेलमा नेपालले हङकङलाई ५ विकेटले पराजित गरेको थियो ।

अब समूह चरणको अन्तिम खेलमा नेपालले त्यसै प्रदर्शनलाई निरन्तरता दिँदै हङकङविरुद्ध जित निकालेर समूह विजेताका रूपमा अर्को चरणको यात्रा तय गर्ने लक्ष्य राखेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै