पहिरोले कर्णालीका तीन राजमार्ग ठप्प, यात्रुलाई वैकल्पिक मार्ग अपनाउन आग्रह
सुर्खेत— लगातारको वर्षासँगै पहिरो खस्दा कर्णाली प्रदेशका तीन प्रमुख राजमार्गको यातायात सेवा ठप्प भएको छ । मुगु, कालीकोट, सल्यान र सुर्खेतका विभिन्न स्थानमा पहिरो खसेपछि मुगु–गमगढी, कर्णाली र राप्ती राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका हुन् ।
प्रहरीका अनुसार मुगुको छायाँनाथ रारा नगरपालिका–४ ताल्चारमा भदौ १६ गते खसेको पहिरोका कारण मुगु–गमगढी सडक अझै सञ्चालनमा आउन सकेको छैन ।
त्यसैगरी कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोला र सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसेमा पहिरो खसेपछि कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
वर्षाका कारण ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी रहेकाले अवरुद्ध सडक तत्काल खुलाउन कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा यात्रु तथा सवारीसाधन बीच बाटोमै रोकिने अवस्था सिर्जना भएको छ ।
प्रहरीले सडक खुल्न समय लाग्न सक्ने भन्दै यात्रु तथा सवारी चालकलाई सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । साथै, कर्णाली राजमार्ग हुँदै सुर्खेतबाट कालीकोट, जुम्ला र मुगुतर्फ यात्रा गर्ने यात्रु तथा चालकलाई यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन अनुरोध गरिएको छ ।
वर्षायाम सुरु भएसँगै कर्णालीका पहाडी सडकमा पहिरोका कारण पटकपटक यातायात अवरुद्ध हुँदै आएको छ। विशेषगरी कर्णाली राजमार्गमा वर्षाका बेला सडक अवरुद्ध हुने समस्या बढी देखिँदै आएको छ ।