पहिरोले महाकाली राजमार्ग अवरुद्ध, यात्रु र सवारीसाधन बाटोमै रोकिए – Nepalboli

पहिरोले महाकाली राजमार्ग अवरुद्ध, यात्रु र सवारीसाधन बाटोमै रोकिए

   २०८३ भाद्र २३, मंगलवार  

बैतडी— लगातारको वर्षाका बीच बैतडीको महाकाली राजमार्गमा पहिरो खस्दा यातायात सेवा ठप्प भएको छ । दोगडाकेदार गाउँपालिका–५ बिटकममा मंगलबार बिहान ढुङ्गासहितको पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार रायका अनुसार सडकखण्डमाथिबाट बिहान पहिरो खसेपछि राजमार्गमा यातायात आवागमन रोकिएको हो ।

पहिरोले सडक पूर्ण रूपमा ढाकेपछि बैतडी आउने–जाने यात्रु तथा सवारीसाधन बाटोमै रोकिएका छन् । राजमार्ग अवरुद्ध हुँदा यात्रुहरूलाई आवतजावतमा समस्या भएको प्रहरीले जनाएको छ ।

पहिरो हटाएर सडक सञ्चालनमा ल्याउन अहिले जेसिबी प्रयोग भइरहेको प्रहरी नायब उपरीक्षक रायले जानकारी दिए । पहिरो पन्छाउने काम पूरा भएपछि राजमार्गमा यातायात सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।

वर्षायाममा महाकाली राजमार्गका विभिन्न स्थानमा पहिरो खस्ने गरेका कारण यात्रु तथा सवारी चालकलाई जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था रहँदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै