राष्ट्रिय शोक दिवसमा पशुपतिमा दीप प्रज्वलन
काठमाडौं— भदौ १० गते आएको विनाशकारी बाढी, पहिरो तथा अन्य विपद्मा परी ज्यान गुमाएका नागरिकको सम्झनामा आज साँझ पशुपतिनाथ मन्दिर परिसरमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ ।
राष्ट्रिय शोक दिवसका अवसरमा आयोजना हुने कार्यक्रममा विपद्मा ज्यान गुमाएका सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरियो । साथै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरियो ।
कार्यक्रममा सहभागी हुनेहरूले एक–एक दीप प्रज्वलन गरी विपद्मा ज्यान गुमाएका नागरिकप्रति सम्मान तथा श्रद्धाञ्जली अर्पण गरे।
भदौ १० गते आएको बाढी, पहिरो लगायतका विपद्ले देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको थियो। विपद्मा ज्यान गुमाउनेहरूको सम्झना र शोकसन्तप्त परिवारप्रति ऐक्यबद्धता जनाउन सरकारले आज राष्ट्रिय शोक दिवस मनायो ।