आज पहिलो ‘जेन्जी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा – Nepalboli

आज पहिलो ‘जेन्जी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा

   २०८३ भाद्र २३, मंगलवार  

काठमाडौं— ‘जेन्जी’ आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको स्मरणमा आज देशभर पहिलो ‘जेन्जी’ सहिद दिवस मनाइँदैछ। सरकारले आन्दोलनका मृतकप्रति सम्मान व्यक्त गर्दै भदौ २३ गते देशभर सार्वजनिक बिदा दिएको छ ।

गत वर्ष भदौ २३ गते भएको ‘जेन्जी’ आन्दोलनले नेपालको राजनीतिमा ठूलो परिवर्तन ल्याएको थियो । आन्दोलन चर्किएपछि तत्कालीन सरकार विघटन भएको थियो भने पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो ।

आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको योगदान र बलिदानको सम्मानस्वरूप सरकारले भदौ २३ लाई ‘जेन्जी’ सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको हो ।

गत भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले सहिद दिवसका अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार आज सरकारी कार्यालय तथा सार्वजनिक निकाय बन्द रहनेछ ।

दिवसका अवसरमा देशका विभिन्न स्थानमा आन्दोलनका क्रममा ज्यान गुमाएकाको सम्झना तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिँदैछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै