जसपा नेपालद्वारा लुम्बिनीका ४ सांसद निष्कासित – Nepalboli

जसपा नेपालद्वारा लुम्बिनीका ४ सांसद निष्कासित

   २०८३ भाद्र १९, शुक्रबार  

ललितपुर—जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी ह्वीप विपरीत लुम्बिनी प्रदेश सरकारलाई विश्वासको मत दिएको भन्दै आफ्ना ४ जना प्रदेश सांसदलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ ।

ललितपुरको बालकुमारीमा तीन दिनसम्म चलेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अनुशासन उल्लंघन गरेको ठहर गर्दै उनीहरुलाई कारबाही गर्ने निर्णय गरेको हो ।

कारबाहीमा पर्नेहरुमा लुम्बिनी प्रदेशका सांसदहरु सन्तोषकुमार पाण्डेय, हेमा बेल्बासे केसी, भण्डारीलाल अहिर र आदेशकुमार अग्रवाल छन् ।

पार्टी स्रोतका अनुसार चारै जनाले पार्टीको निर्णय विपरीत प्रदेश सरकारको पक्षमा मतदान गरेका थिए र सरकारमा समेत सहभागी भएका थिए ।

पार्टीले उनीहरुको प्रदेशसभा सदस्य पद रिक्त गर्न छिट्टै प्रदेशसभामा पत्राचार गर्ने जनाएको छ ।

यसैबीच बैठकले कोशी प्रदेशकी सांसद निर्मला लिम्बूलाई पनि पार्टी निर्देशन उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै