नेपालमा आएको बाढी प्रभावितका लागि भारतद्वारा १० टन संकटकालीन राहत सामग्री हस्तान्तरण
काठमाडौं— नेपालका विभिन्न भूभागमा आएको विनाशकारी बाढी र पहिरोपछि उत्पन्न कठिन परिस्थितिमा सहयोग गर्न छिमेकी मुलुक भारतले १० टन बराबरको मानवीय सहायता तथा अत्यावश्यक औषधि नेपाल पठाएको छ ।
भारत सरकारको ह्युमानिटेरियन असिस्टेन्स एन्ड डिजास्टर रिलिफ पहलअन्तर्गत भारतीय वायुसेनाको विशेष विमानमार्फत आपतकालीन उद्धार र राहत सामग्री काठमाडौं ल्याइएको हो । हस्तान्तरण गरिएको राहत सामग्रीमा बाढी प्रभावित क्षेत्रका लागि अत्यावश्यक औषधि, जीवनरक्षक उपकरण, खाद्यान्न तथा त्रिपाल लगायतका राहत सामग्रीहरू समावेश छन् ।
नेपालस्थित भारतीय दूतावासका अनुसार भारत सरकारले बाढीका कारण जीवन गुमाउने मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइते तथा विस्थापित परिवारहरूप्रति पूर्ण सहानुभूति प्रकट गरेको छ ।
विपदको यस कठिन घडीमा भारत सदैव नेपाल र नेपाली जनताको साथमा उभिएको जनाउँदै दूतावासले भनेको छ, भौगोलिक र बर्षो पुरानो मैत्रीपूर्ण सम्बन्धका कारण नेपालमा आउने जुनसुकै विपद्मा पहिलो प्रतिक्रिया जनाउन भारत तयार रहँदै आएको छ । उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन नेपाल सरकारसँग निरन्तर समन्वय भइरहेको छ ।
विपद् व्यवस्थापन टोली र प्राविधिक सहयोगका लागि समेत भारतीय संयन्त्रहरू तयारी अवस्थामा रहेको बताइएको छ । नेपाली अधिकारीहरूले प्राप्त राहत सामग्रीलाई प्राथमिकताका आधारमा तत्कालै बाढी प्रभावित दुर्गम क्षेत्रहरूमा पठाउने तयारी भइरहेको जानकारी दिएका छन् ।