रसुवा बाढीः उद्धारका लागि चारै सुरक्षा निकाय र हेलिकप्टर स्ट्यान्डबाइ, १२३४ मा सम्पर्क गर्न प्रधानमन्त्रीको अपिल – Nepalboli

रसुवा बाढीः उद्धारका लागि चारै सुरक्षा निकाय र हेलिकप्टर स्ट्यान्डबाइ, १२३४ मा सम्पर्क गर्न प्रधानमन्त्रीको अपिल

   २०८३ भाद्र १०, बुधबार  

काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहले रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यका लागि सम्पूर्ण राज्य संयन्त्र उच्च सतर्क अवस्थामा परिचालन गरिएको जनाएका छन् । बाढीबाट प्रभावित तथा तल्लो तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन आग्रह गर्दै प्रधानमन्त्रीले आपतकालीन अवस्थामा जानकारी तथा राहतका लागि टोल फ्री नम्बर १२३४ मा सम्पर्क गर्न अपिल गरेका छन् ।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार बाढी प्रभावित क्षेत्रमा भइरहेको तयारी र कदमहरू निम्न अनुसार छन् ।

प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन भइसकेका छन् भने छिमेकी जिल्लाहरूबाट समेत अतिरिक्त जनशक्ति पठाइएको छ ।

विपद् व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाउँदै नेपाल रेडक्रस, नेपाल स्काउट र मेडिकल टिमहरूसँग समन्वय गरिएको छ । अतिरिक्त एम्बुलेन्स तथा स्वास्थ्यकर्मीको टोली बाढीग्रस्त क्षेत्रतर्फ प्रस्थान गरिसकेका छन् ।

जोखिमयुक्त तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सार्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको छ । सर्वसाधारणलाई र फोन कलमार्फत अलर्ट गराउने काम भइरहेको छ ।

आपत्कालीन उद्धार तथा राहत सामग्री ओसारपसारका लागि सरकारी तथा निजी कम्पनीका सबै हेलिकप्टरहरूलाई तयारी अवस्थामा राखिएको छ ।

परिस्थिति नियन्त्रण र थप रणनीति तय गर्न तत्कालै उच्चस्तरीय बैठक डाकिएको छ ।

प्रधानमन्त्री शाहले नागरिकहरूलाई धैर्यधारण गरी सुरक्षित स्थानमा बस्न र आफन्तहरूसँग सम्पर्क नभएमा सरकारी निकायको आधिकारिक अपडेट पर्खन अनुरोध गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै