अलास्कामा घना कुहिरोबीच विमान दुर्घटना, सबै ८ जनाको मृत्यु – Nepalboli

अलास्कामा घना कुहिरोबीच विमान दुर्घटना, सबै ८ जनाको मृत्यु

   २०८३ भाद्र ६, शनिबार  

काठमाडौं— अमेरिकाको अलास्का राज्यमा घना कुहिरोका बीच अवतरण गर्ने क्रममा एउटा चार्टर विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको छ ।

स्थानीय अधिकारीका अनुसार दुर्घटना बिहीबार अलास्काको पश्चिमी तटस्थित केप न्युएनह्याम लङ–रेन्ज रडार साइट नजिक भएको हो । एन्कोरेजबाट उडेको सेसना ४४१ ट्विन–इन्जिन विमानले ग्राभेल एयरस्ट्रिपमा दोस्रो पटक अवतरण गर्ने प्रयास गरिरहँदा रनवेभन्दा करिब आधा किलोमिटर टाढा खसेको थियो ।

नेशनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्डका अलास्का क्षेत्रीय प्रमुख क्लिन्ट जोनसनका अनुसार दुवै पाइलटले घना कुहिरोका कारण रनवे देख्न सकेका थिएनन् र उपकरणको सहायताले मात्रै विमान उडाइरहेका थिए । पहिलो अवतरण प्रयास कम दृश्यताका कारण रद्द गरिएको थियो ।

दुर्घटनाग्रस्त विमानमा दुई पाइलट, अमेरिकी आर्मी कोर्प्स अफ इन्जिनियर्सका दुई कर्मचारी तथा चार ठेकेदार सवार थिए । विमान सेक्युरिटी एभिएसनद्वारा सञ्चालित चार्टर उडान थियो ।

अधिकारीहरूका अनुसार दुर्घटनाअघि मौसम अचानक बिग्रिएको थियो । केही मिनेटअघि करिब १६ किलोमिटर रहेको दृश्यता घटेर एक चौथाइ माइलभन्दा पनि कम भएपछि अवतरण जटिल बनेको थियो। दुर्घटनाको विस्तृत कारणबारेले अनुसन्धान सुरु गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै