ट्रम्पद्वारा जन्मसिद्ध अमेरिकी नागरिकता सीमित गर्ने नयाँ प्रयास
वासिङ्टन डीसी— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मिएका विदेशी नागरिकका सन्तानलाई स्वतः प्राप्त हुने जन्मसिद्ध नागरिकताको दायरा सीमित गर्ने उद्देश्यले दुई नयाँ कार्यकारी आदेश जारी गरेका छन् ।
ट्रम्पले बिहीबार हस्ताक्षर गरेका आदेशमध्ये एउटा विदेशी नागरिकका सन्तानलाई जन्मसिद्ध अमेरिकी नागरिकता प्राप्त हुने अवस्थालाई थप कडाइ गर्ने उद्देश्यमा केन्द्रित छ भने अर्कोले ‘बर्थ टुरिज्म’ अर्थात् बच्चा जन्माउनकै लागि गर्भवती महिलाहरू पर्यटकका रूपमा अमेरिका प्रवेश गर्ने अभ्यासलाई रोक्ने लक्ष्य राखेको छ ।
ओभल अफिसमा आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले यस्तो व्यवस्था यसअघि नै लागू हुनुपर्ने दाबी गरे । उनले जन्मसिद्ध नागरिकता सीमित गर्ने आफ्नो अघिल्लो प्रयासलाई अमेरिकी सर्वोच्च अदालतले रोकिदिएकोप्रति समेत असन्तुष्टि व्यक्त गरे ।
नयाँ आदेशअनुसार, दुवै अभिभावक गैरअमेरिकी नागरिक रहेको अवस्थामा उनीहरूमध्ये कुनै एक विदेशी आतंकवादी संगठनको सदस्य, विदेशी सरकारको कर्मचारी वा अमेरिकी नागरिकता प्राप्त गर्न ठगी तथा जालसाजीमा संलग्न रहेको अवस्थामा अमेरिकामा जन्मिएको बच्चाले स्वतः जन्मसिद्ध नागरिकता नपाउने व्यवस्था गर्न खोजिएको छ ।
त्यस्तै, संघीय कानुनअनुसार जन्मसिद्ध नागरिकताको प्रावधान लागू नहुने अमेरिकी भूभागमा बसोबास गर्ने अभिभावकका सन्तानलाई समेत नागरिकता नदिने व्यवस्था आदेशमा समेटिएको छ ।
अर्को कार्यकारी आदेशले ‘बर्थ टुरिज्म’ नियन्त्रण गर्ने लक्ष्य राखेको छ । गर्भवती महिलाहरूले पर्यटकका रूपमा अमेरिका प्रवेश गरी बच्चालाई अमेरिकी नागरिकता दिलाउने उद्देश्यले प्रसूति गराउने अभ्यास बढेको ट्रम्प प्रशासनको दाबी छ ।
ट्रम्प प्रशासनले विशेषगरी रुस र चीनलगायतका देशका नागरिकले जन्मसिद्ध नागरिकताको प्रावधानको दुरुपयोग गरिरहेको आरोप लगाउँदै आएको छ । ट्रम्पले हरेक वर्ष ठूलो संख्यामा बालबालिका यस्तो प्रक्रियाबाट अमेरिकी नागरिक बन्ने दाबी गरेका छन् ।
ह्वाइट हाउसका उपप्रमुख तथा होमल्यान्ड सुरक्षा सल्लाहकार स्टेफन मिलरले पनि कतिपय मानिस पर्यटकका रूपमा अमेरिका प्रवेश गरे पनि उनीहरूको वास्तविक उद्देश्य बच्चालाई अमेरिकी नागरिक बनाउनु रहेको दाबी गरेका छन् ।
ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सुरु गरेलगत्तै सन् २०२५ मा अमेरिकी संविधानको १४औँ संशोधनले सुनिश्चित गरेको जन्मसिद्ध नागरिकता सीमित गर्ने कार्यकारी आदेश जारी गरेका थिए । उक्त आदेशविरुद्ध कानुनी चुनौती परेपछि अमेरिकी सर्वोच्च अदालतले त्यसलाई कार्यान्वयनमा रोक लगाएको थियो ।
नयाँ कार्यकारी आदेशमार्फत ट्रम्प प्रशासनले पुनः जन्मसिद्ध नागरिकताको दायरा सीमित गर्ने प्रयास अघि बढाएको हो ।