शान्ति प्रक्रिया राष्ट्रिय सहमतिबाटै टुङ्गोमा पुग्छ- प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको छ । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन र नेपाल शिक्षक समाजबिच एकता घोषणा समारोह तथा प्रथम राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै यस्तो धारणा राख्नुभएको हो । उहाँले विगतमा शान्ति प्रक्रिया बहुमतबाट टुङ्गोमा पुर्याउन दायाँ र बायाँ कोणबाट प्रस्ताव आए पनि आफूले सहमतिमै जोड दिएका कारण केही ढिलोगरी भए पनि यो राष्ट्रिय सहमतिबाट पूरा हुने बताउनुभयो ।
एकथरि शक्तिमा यो माओवादी र काङ्ग्रेसको मात्रै समस्या हो जस्तो देखाउने प्रवृत्ति देखिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसलाई राष्ट्रिय समहतिबाटै टुङ्गोमा पुर्याउनुपर्ने र त्यो अन्तिम चरणमा पुगेको बताउनुभयो ।
एकता प्रक्रियामा जोडिएका शिक्षकहरूलाई स्वागत गर्दै उहाँले यसले वृहत् एकता र ध्रुवीकरणको बाटो फराकिलो बनाउने बताउनुभयो । आज मात्रै तीन वामपन्थी दलसित एकता वार्ता भएको जानकारी दिँदै उहाँले अब एकताको विकल्प नभएकोमा धेरैको साझा निष्कर्ष बन्न थालेको बताउनुभयो ।
नेपालको राजनीति आन्दोलनमा जागरण पैदा गर्न शिक्षकहरूको ऐतिहासिक भूमिका रहँदै आएको बताउनुभयो। अहिलेसम्म सरकारको नेतृत्व गर्ने धेरै नेताहरू शिक्षक पृष्ठभूमिका धेरै भए पनि शैक्षिक सुधारमा अपेक्षित परिणाम नदेखिनु दुस्खद रहेको उहाँले बताउनुभयो । आफू प्रधानमन्त्री भएको बेला निकै जोडबल गरेर शिक्षा विधेयक संसदमा पुर्याएको उल्लेख गर्दै उहाँले यसलाई पारित गराउन फेरि एकपटक जोड दिनुपर्ने बताउनुभयो ।
अध्यक्ष प्रचण्डले विधेयक अझै पूर्ण नभएको र शिक्षक आन्दोलनका माग समेटेर संशोधित विधेयक संसद्को आउँदो अधिवेशनबाट पारित गर्नुपर्ने बताउनुभयो । त्यसका लागि शिक्षकहरूले पुनः आन्दोलन गर्ने चेतावनी दिनु सही नै हुने उहाँले बताउनुभयो ।
यो विधेयक पारित गराउन आफूले प्रमुख प्रतिपक्षी दलको तर्फबाट पूरै जोड लगाउने उल्लेख गर्दै उहाँले सदनको बहससँगै सडकको आवाज पनि उत्तिकै आवश्यक रहेको बताउनुभयो ।