विवाहपञ्चमीको अवसरमा जयनगर–जनकपुर रेल सेवा यात्रु भरिएलगतै सञ्चालनमा
जयनगर–जनकपुर सञ्चालन भइरहेको नेपाल रेल्वे सेवा तीन दिन यात्रु भरिएपछि तुरुन्त सञ्चालन गरिने भएको छ । जनकपुरधाममा आयोजना हुन गइरहेको विवाहपञ्चमी महामहोत्सव मेलालाई ध्यानमा राखेर तीन दिन यात्रुको चापअनुसार रेल सेवा सञ्चालन गरिने नेपाल रेल्वे कम्पनी लिमिटेड केन्द्रीय कार्यालय जनकपुरधामले जनाएको छ ।
दैनिक तीन पटक आउने र जानेगरी सञ्चालन भइरहेको रेल सेवा आज देखि तीन सम्म यसरी चलाउन लागीएको छ । मङ्सिर २०, २१ र २२ गते गरी तीन दिन यात्रु भरिएपछि तुरुन्त सञ्चालन गरिने नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक निरन्जनकुमार झाले जानकारी दिनुभयो । मेलामा सहभागी हुन आउनु हुने साधुसन्त, तीर्थयात्री, यात्रुगण तथा सर्वसाधारणको चापलाई दुष्टिगत गरी यसरी रेल सेवा सञ्चालन गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, सञ्चालनमा रहेका दुबै ट्रेन सेट उक्त अवधिभर जयनगर–जनकपुर खण्डमा नै सञ्चालन हुन्छ ।
मङ्सिर २० गते बिहान विजलपुराबाट जनकपुरतर्फ आउने नियमित सेवा पश्चात जनकपुर–भंगहा खण्डको नियमित रेलसेवा स्थगित गरिएको प्रबन्ध सञ्चालक झाले २३ गतेदेखि जयनगर–जनकपुर–भंगहा (विजलपुरा) खण्डमा साविक बमोजिम नै नियमित रेल सेवा सञ्चालन गरिने बताउनुभयो ।