बिआरआईमा नेपालको प्रस्ताव चीनद्धारा अस्विकार, ९ बुदामा सहकार्यका लागी हस्ताक्षर
प्रधानमन्त्री केपी ओलीको जारी चीन भ्रमणको क्रममा सबैभन्दा चासोपुर्वक हेरिएको बिआरआई बारेको सम्झाता नहुने भएको छ । नेपालले बिआरआई कार्यन्वयनका लागी चीन सामु प्रस्ताव गरेको अनदानको मोडललाई चीनले अस्विकार गरे पछि बिआआई बारेमा प्रम ओलीको भ्रमणको क्रममा कुनै सम्झौता भएको छैन ।
नेपालले चीन सामु प्रस्तुत ‘फ्रेमवर्क अफ बेल्ट एन्ड रोड कोअपरेसन’ को आफनो मोडेल प्रस्तुत गरेका थिए । नेपाली कांग्रेस र एमालेका नेताहरु सम्मिलित कार्यदलले तयार पारेको मस्यौदामा चिनियाँ पक्षले संशोधन गरेर पठाएपछि दुई देशका प्रधानमन्त्रीहरुबीच भएको दुईपक्षीय वार्ताका क्रममा सो सम्झौतामा हस्ताक्षर नभएको हो । भ्रमण दलमा सहभागी एक अधिकारीका अनुसार अब प्रधानमन्त्रीको भ्रमणको क्रममा त्यो सम्झौतामा हस्ताक्षर हुने सम्भावना एकदमै कम छ ।
चीनले मंगलबार बिहान मात्रै नेपालले प्रस्ताव गरेको मस्यौदामा केही परिमार्जन गरेर पठाएको थियो । खासगरी सरकारले निर्माण गर्ने बीआरआई अन्तर्गतका परियोजनाहरु ‘अनुदानमा आधारित लगानी’मा गर्ने प्रस्ताव नेपालले गरेकोमा चीनले अनुदान शब्द हटाएर पठाएको प्रतिनिधिमण्डल स्रोतले बतायो ।
त्यसका साथै, नेपालले सम्झौतामा प्रस्ताव गरेका परियोनजामध्ये दुईवटा परियोजनाको नामसमेत चिनियाँ पक्षले हटाएर पठाइदिएका थिए । ‘मदन भण्डारी प्राविधिक विश्वविद्यालय र काठमाडौं रिङरोडमा प्रसारण लाइन बनाउने विषय पनि सम्झौताको मस्यौदाबाट हटाएर पठाएका छन्,’ स्रोतले भन्यो ।
यद्यपी नेपाल र चीन विच विभिन्न ९ बुदामा सहकायृ गर्ने गरि मंगलवार सहमती भएको छ । नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदानलगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली छ्याङबिच ग्रेट हल अफ पिपलमा दुईपक्षीय भेटवार्तापछि आपसी सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको होे ।
वार्ताअघि प्रधानमन्त्री ओलीलाई चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल चीनको औपचारिक भ्रमणमा हिजो बेइजिङ आइपुगेको हो । दुवै देशका प्रधानमन्त्रीबिच द्विपक्षीय वार्तापछि पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले नेपाल र चीनबिच टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा दुवै देशका सम्बद्ध अधिकारीले हस्ताक्षर गरेर आदानप्रदान गरेको जानकारी दिनुभयो ।
यसैगरी, नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । चीनले काठमाडौँको वसन्तपुरस्थित नौतले दरबार पुनर्निर्माण सम्पन्न गरेको प्रमाणपत्रको आदानप्रदानका साथै भैँसीको मासु चीन निर्यातसम्बन्धी प्रोटोकलमा समझदारी भएको छ ।
प्रवक्ता ढकालले भन्नुभयो, “सम्पर्क सञ्जाल विस्तार, औद्योगिक तथा पूर्वाधार विकास, स्वास्थ्य क्षेत्रमा सहकार्य, कृषि, व्यापार, पर्यटन, लगानी, विज्ञान तथा प्रविधि, खेलकुद, प्राकृतिक प्रकोप व्यवस्थापन, दुई देशबिचको जनस्तरको सम्बन्ध, गरिबी निवारणलगायतका क्षेत्रमा थप सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको छ ।”
परराष्ट्र मन्त्रालयका प्रवक्ता ढकालका अनुसार विकास आयोजनासम्बन्धी सम्झौता, आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी, नगद सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भई आदानप्रदान भएको छ ।
त्यस्तै, स्वयंसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारी तथा नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबिच सञ्चार प्रविधिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर उहाँको भनाइ छ ।
प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबिच भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच बेइजिङमा भेटवार्ता भएको छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले केहीबेर अघि राष्ट्रपति सीसँग बेइजिङको देउताइ स्टेट गेस्ट हाउसको भिल्ला नम्बर १२ मा भेटवार्ता गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
ओलीद्वारा चिनियाँ जनक्रान्तिका सहिदका स्मारकमा पुष्पहार अर्पण
प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ जनक्रान्तिका सहिदका स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली प्रकट गर्नुभएको छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका उहाँले मङ्गलबार बेइजिङको तियानमेन स्क्वायरस्थित चिनियाँ जनक्रान्तिका सहिदहरुको स्मारकमा पुष्पहार अर्पण गर्नुभएको हो ।
ओली र चिनियाँ स्थायी कमिटी अध्यक्ष लेजिबिच भेट
प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी कमिटीका अध्यक्ष झाव लेजिबिच भेटवार्ता भएको छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले अध्यक्ष लेजिसँग ग्रेट हल अफ पिपलमा भेटवार्ता गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।