पूर्वमन्त्री अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति – Nepalboli

पूर्वमन्त्री अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

   २०८१ कार्तिक २७, मंगलवार  

कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालले उनीहरूलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन्। फर्जी कागजात बनाएर युवाहरूलाई जापानमा लुकाउने नियत राखेर ‘मानव तस्करी’ गरेको आरोपमा पूर्वमन्त्री अधिकारी, दावा शेर्पा, जनक राई, कञ्चन देवकोटा, महेश पाण्डे, वीरबहादुर सुनार, जुगल रिजाल, गुड्डी राई र नविन राई हिरासतमा छन्। अधिकारी सहित सबैको म्याद थप गरिएको छ ।

कार्तिक ११ मा तत्कालीन मन्त्री अधिकारी, खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटा क्याथे प्यासिफिकको उडानमार्फत जापान उडेका थिए। तर, उनीहरूलाई जापानको अध्यागमनले टोकियो विमानस्थलबाट डिपोर्ट (निष्कासन) गरेको थियो। उनीहरूलाई बिचौलियाहरु धादिङ घर भएका ३४ वर्षीय महेश पाण्डे, दोलखा घर भएका ३० वर्षीय वीरबहादुर सुनार र नुवाकोट घर भएका २३ वर्षीय जुगल रिजालले पठाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ।

आरोपीहरुविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँले लिखत किर्ते र मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गतको कसुरमा अनुसन्धान गरिरहेको छ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै