मिसन–२०२६ अन्तर्गत विशेष प्रशिक्षण मङ्सिर १ देखि पुनः सुरु हुने
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन–२०२६ अन्तर्गत खेलाडीको विशेष प्रशिक्षण मङ्सिर १ गतेदेखि पुनः सुरु गर्ने भएको छ । सन् २०२६ मा जापानमा हुने २०औँ एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अङ्कमा पदक जित्ने लक्ष्यसहित गत आर्थिक वर्षदेखि पदकको बढी सम्भावना भएका विभिन्न खेलका खेलाडीलाई समावेश गरी विशेष तयारी प्रशिक्षण सुरु गरेको थियो । गत आवमा पाँच खेलको ६ महिना तथा थप पाँच खेलको तीन महिना विशेष प्रशिक्षण सञ्चालन गरिएको राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले जानकारी दिनुभयो ।कुनैपनि एसियाली खेलकुद सम्पन्न भए लगत्तै यति लामो समय आगामी संस्करणका लागि तयारी थालिएको पहिलो पटक हो ।
एसियाली खेलकुदको कुनैपनि संस्करणमा नेपालले हालसम्म दोहोरो अङ्कमा जितेको छैन । एसियाली खेलकुदमा नेपाल हालसम्म स्वर्णविहीन पनि छ । सन् १९८६ मा दक्षिण कोरियको सिओलमा भएको एसियाली खेलकुदमा नेपालले बक्सिङ र तेक्वान्दोमा समान चार चार गरी आठ कांस्य पदक जितेको थियो ।
सङ्ख्याका हिसाबले त्यो सिओल एसियाड नै नेपालले हालसम्म एसियाली खेलकुदमा जितेको सर्वाधिक पदक हो । मङ्सिरदेखि सुरु हुने विशेष प्रशिक्षणमा पारा तेक्वान्दोसहित १२ खेल समावेश गरिएको छ । ४५ पुरुष र ५४ महिला गरी ९९ खेलाडी विशेष प्रशिक्षणमा सहभागी हुनेछन् । प्रशिक्षणमा २२ प्रशिक्षकलाई परिचालन गरिने छ ।
करातेमा समान पाँच पाँच पुरुषरमहिला, तेक्वान्दोमा ६ पुरुष र चार महिला, बक्सिङ, उसु र एथलेटिक्समा समान चार चार पुरुष÷महिला तथा जुडो र कुस्तीमा समान तीन तीन पुरुषरमहिला खेलाडी प्रशिक्षणमा सहभागी हुने छन् ।
कबड्डीमा समान १२-१२ पुरुषरमहिला तथा महिला भलिबलमा १२ खेलाडी हुनेछन् । गल्फमा दुई पुरुष र एक महिला खेलाडी तथा पारा तेक्वान्दोमा समान दुई दुई पुरुषरमहिला खेलाडी समावेश हुने छन् ।
गल्फ र पारा तेक्वान्दोमा समान एक एक प्रशिक्षण हुने छन् भने बाँकी खेलमा दुई प्रशिक्षकलाई समेटिने छ । यो आवमा गल्फ, पारा तेक्वान्दो र पुरुष कबड्डी थप गरिएको हो । सम्बन्धित राष्ट्रिय खेल सङ्घले तोकेको कोटा अनुसार छनोट गरिएको राष्ट्रिय टिमका उत्कृष्ट खेलाडीलाई विशेष प्रशिक्षणमा समावेश गरिने निर्देशक विष्टले जानकारी दिनुभयो ।
उत्कृष्ट खेलाडीलाई वैदेशिक प्रशिक्षणको अवसर पनि दिइने छ । विशेष प्रशिक्षणमा सहभागी खेलाडी तथा प्रशिक्षकलाई दैनिक जनही पाँच सय रुपियाँ खुराक खर्च प्रदान गरिने छ भने प्रत्येकलाई १० हजार रुपियाँ मूल्य बराबरको किट्स सेट उपलब्ध गराइने छ ।
असार मसान्तसम्म सञ्चालन गरिने विशेष प्रशिक्षणमा सहभागी सबैको प्रशिक्षण अवधिभर बिमा पनि गरिने छ । विशेष प्रशिक्षणलाई प्रभावकारी बनाउन राय सुझाव र छलफलका लागि राखेअन्तर्गत प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्लको अध्यक्षतामा मङ्गलबार बैठक पनि बसेको थियो ।
बैठकमा सम्बन्धित राष्ट्रिय खेल सङ्घका पदाधिकारी, विभागीय प्रमुख, शाखा प्रमुखलगायतको उपस्थिति रहेको थियो ।