बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ – Nepalboli

बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६

   २०८१ आश्विन २१, सोमबार  

असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढीपहिरोमा परेर सोमबारसम्म मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ पुगेका छन् । नेपाल प्रहरीले सोमबार सार्वजनिक गरेको विवरण अनुसार बाढीपहिरोमा परेर एक सय ७८ घाइते भएका छन् । १८ बेपत्ता रहेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार कूल १७ हजार एक सय ७४ को उद्धार गरिएको छ । सबैभन्दा ठुलो जनधनको क्षति बागमती प्रदेशमा भएको र त्यसमा पनि काठमाडौँ उपत्यकामा धेरै क्षति भएको छ । बागमतीमा मात्रै एक सय ३९को मृत्यु भएको छ ।

मृतकमध्ये एक सय ७६ आश्रित परिवारलाई ‘विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड, २०७७’ बमोजिम राहत रकम उपलब्ध गराइएको छ । प्रभावित परिवारलाई नगद सहायता तथा राहत सामग्री वितरण जारी रहेको उहाँले जानकारी दिनुभयो ।

मन्त्रालयअन्तर्गत केन्द्रीय विपद् गोदाम घरमा रहेको राहत सामग्री जिल्ला विपद् व्यवस्थापन समितिको मागको आधारमा उपलब्ध गराइएको छ । आपत्कालीन राहत, पुनः निर्माण र पुनस्स्थापनालाई प्रभावकारी बनाउने उद्देश्यले गृहमन्त्रीसहितको टोलीले विभिन्न क्षेत्रको स्थलगत अनुगमन गरी राहत र पुनस्निर्माणलाई गति दिन निर्देशन दिनुभएको उहाँले बताउनुभयो ।

विभिन्न राजमार्गका अवरोध हटाइ वा वैकल्पिक व्यवस्था गरी सञ्चालन गर्ने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ । लाभग्राहीको विवरण प्राप्त हुनासाथ प्रभावितलाई खाद्यान्नलगायत तत्काल गुजारा गर्न नगद र अस्थायी आवास निर्माणका लागि पहिलो किस्तावापत् रकम जिल्ला विपद् व्यवस्थापन कोषबाट स्थानीय तहमार्फत उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै