मङ्सिर १५ गतेसम्म १८ वर्ष पुगेकाले मतदान गर्न पाउने – Nepalboli

मङ्सिर १५ गतेसम्म १८ वर्ष पुगेकाले मतदान गर्न पाउने

   २०८१ आश्विन ६, आईतवार  

निर्वाचन आयोगले मतदाता नामावलीमा नाम सूचीकृत भई आगामी मङ्सिर १५ गतेसम्म १८ वर्ष पुगेकाले स्थानीय तह उपनिर्वाचनमा मतदान गर्न पाउने निर्णय गरेको छ । आयोगले स्थानीय निर्वाचन–२०७९ र प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन–२०८० देखि निर्वाचनको अघिल्लो दिनसम्म १८ वर्ष उमेर पुगेकाको नाम मतदाता नामावलीमा समावेश गर्दै आएको छ । स्थानीय तहमा रिक्त रहेका ३९ पदको उपनिर्वाचन मङ्सिर १६ गते हुँदै छ ।

आयोग पदाधिकारीको बुधबारको बैठकले गत भदौ ३१ गतेसम्म देशभरबाट सङ्कलित तथा आगामी मङ्सिर १५ गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदाताको विवरण अद्यावधिक प्रक्रियामा लैजाने निर्णय गरेको छ । नामावली अद्यावधिक कार्यक्रम अन्तर्गत असोज १८ देखि ३० गतेसम्म निवेदन दिन पाउने आयोगले व्यवस्था गरेको छ । मतदाता नामावलीलाई त्रुटिरहित र थप शुद्ध तुल्याउन अद्यावधिक कार्यक्रम सञ्चालन गरिने आयोगले जनाएको छ ।

अद्यावधिक कार्यक्रम सञ्चालन गर्नुअघि आयोगले मङ्सिर १६ गतेको उपनिर्वाचनमा भाग लिन योग्यसहित देशैभरिका मतदाताको विवरण प्रकाशन गर्ने छ । आयोगले अन्तिम मतदाता नामावली कात्तिक २६ गते प्रकाशन गर्ने जनाएको छ ।

असोज १० गतेदेखि दल दर्ता

स्थानीय तहमा रिक्त रहेका पदमा निर्वाचनका लागि असोज १० गतेदेखि राजनीतिक दल दर्ता हुने भएको छ । दल दर्ता असोज १६ गतेसम्म निर्वाचन आयोगको कार्यालयमा हुने छ ।आयोग पदाधिकारीको बुधबारको बैठकले मङ्सिर १६ गतेका लागि घोषित उपनिर्वाचनमा भाग लिने दलको असोज २० गते दर्ता स्वीकृत गर्ने गरी निर्वाचन तालिका स्वीकृत गरेको छ । आयोगका अनुसार कात्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदान स्थल निर्धारण गर्ने र कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ । आयोगले मङ्सिर २ गतेदेखि निर्वाचन कार्यक्रम सञ्चालन गर्दै १६ गते मतदान गर्नेलगायतका ६२ वटा क्रियाकलापसहितका निर्वाचन तालिका स्वीकृत भएको जनाएको छ । स्थानीय तहमा हाल ३९ पद रिक्त छन् । आयोगको सुझावमा मन्त्रीपरिषद्को भदौ ३० गतेको बैठकले मङ्सिर १६ गते स्थानीय तहमा रिक्त रहेको पदको निर्वाचन हुने घोषणा गरेको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै