गएको एक वर्षमा नेपालमा सात हजार २२३ जनाले गरे आत्महत्या – Nepalboli

गएको एक वर्षमा नेपालमा सात हजार २२३ जनाले गरे आत्महत्या

   २०८१ भाद्र २३, आईतवार  

नेपालमा आर्थिक वर्ष २०८०-०८१ मा सात हजार २२३ जनाले आत्महत्या गरेका छन् । आइतबार विश्व आत्महत्या रोकथाम दिवसको उपलक्ष्यमा काठमाडौँमा आयोजित कार्यक्रममा सो तथ्याङ्कबारे जानकारी गराइएको हो। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेले नेपालको हकमा गत आर्थिक वर्ष २०८०-०८१ मा ७ हजार २२३ जनाले आत्महत्या गरेको बताउनुभयो।

उहाँले नेपालमा सरदर दिनमा २० जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्कले देखाएको बताउनुभयो। एसडिजीको लक्ष्य ४।७ मा झार्ने भए पनि आत्महत्याको दर झनै बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो।

नेपालमा वयस्कमा ६.५ प्रतिशत र ३.९ प्रतिशत किशोर किशोरीले आत्महत्या गर्ने सोच राख्ने गरेको र १५ देखि ४५ वर्षका प्रजनन उमेर समूहका महिलाको मृत्युको पहिलो कारण आत्महत्या रहेको बताउनुभयो।

उहाँकाअनुसार आत्महत्याका धेरै कारणमध्ये बायोलोजिकल कुरा, मानसिक रोग, फिजिकल, साइकोसोसियल, साइकोलोजिकल कारण रहेको बताउनुभयो। त्यस्तै सामाजिक, सांस्कृतिक र आर्थिक कारणले पनि आत्महत्या गर्ने गरेको बताउनुभयो।

विश्वमा मृत्युका कारणमध्ये आत्महत्या १५ औँ कारण रहेको बताउनुभयो। विश्वमा वार्षिक सात लाख मानिस आत्महत्याको कारणले मृत्यु वरण गर्ने तथ्याङ्क रहेको छ।

विश्वमा हरेक ४० सेकेण्डमा एक मानिसले आत्महत्या गर्ने गरेको तथ्याङ्क रहेको उहाँले बताउनु भयो। विश्वमा ७७ प्रतिशत आत्महत्याका घटनाहरू अति कम र मध्यम आर्थिक अवस्था भएका देशमा हुने गरेका छन्। साउथ इस्ट एसियामा मात्रै ३९ प्रतिशत रहेको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै