संविधान संशोधनको दृष्टिकोण तय गर्न लोसपामा कार्यदल गठन – Nepalboli

संविधान संशोधनको दृष्टिकोण तय गर्न लोसपामा कार्यदल गठन

   २०८१ भाद्र २१, शुक्रबार  

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठकले संविधान संशोधनको दृष्टिकोण तय गर्न लक्ष्मणलाल कर्णको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

कार्यदलमा दानबहादुर विश्वकर्मा र परमेश्वर साह सदस्य रहने निर्णय गरिएको प्रवक्ता आभास लाभले जानकारी दिए । उक्त कार्यदलले संविधान संशोधनका विषयमा सरकारलाई आवश्यक सहजीकरणसमेत गर्नेछ । बैठकले संविधान संशोधन गर्दा जातीय, वर्गीय उत्पीडनमा परेका समुदायलाई सामाजिक न्याय तथा मधेसका मुद्दालाई प्राथमिकतामा राख्नुपर्ने माग गरेको छ ।

बिहीबार सम्पन्न बैठकले आगामी वैशाख २६ गते महाधिवेशन गर्ने निर्णयसमेत गरेको छ । महाधिवेशनस्थलबारे पछि निर्णय गरिने जनाइएको छ । वडा, गाउँ, क्षेत्र तथा केन्द्रसम्म सङ्गठन सुदृढीकरणका लागि जनलक्षित अभियान सञ्चालन गर्ने निर्णय गरेको बैठकले विभिन्न कारणले लोसपा परित्याग गरेका नेता तथा कार्यकर्तालाई पार्टीमा फर्कन आह्वान गरेको छ ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै